Shittalpati
पाल्पामा पनि मनाइयो विश्व क्षयरोग दिवस

पाल्पा, पाल्पासहित देशभर विश्व क्षयरोग दिवस मनाइएको छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ भन्ने मूल नाराका साथ शुक्रबार विश्व क्षयरोग दिवस मनाइएको हो ।

पाल्पामा स्वास्थ्य कार्यालयको आयोजनामा अन्तक्र्रिया कार्यक्रम गरी यो दिवस मनाइएको छ । कार्यक्रममा क्षयरोग चुनौतिको विषय बन्दै गएकाले त्यसलाई रोक्न सबै नागरिकमा सचेतना जगाउनु आवश्यक रहेकोमा जोड दिइएको छ । यहाँ बोल्ने अधिकांस वक्ताहरुले नागरिकहरुको लापरवाहीका कारण क्षयरोग समस्याको रुपमा देखा पर्दै गएको भन्दै चिन्ता समेत व्यक्त गरे ।

कार्यक्रमका जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले दुरदराजका नागरिकहरु समक्ष सचेतनाका कार्यक्रमहरु पु¥याउन सके क्षयरोग नियन्त्रण गर्न सकिने बताए । उनले सचेतनाको कमीका कारण अझै पनि धेरै नागरिकहरुले समस्या दवाएर राख्ने गरेको धारणा व्यक्त गरे । प्रमुख अतिथि समेत रहेका खनालले आम नागरिकमा सचेतना जगाउन र समाजमा कोही कतै क्षयरोगका लक्षण देखिएका विरामी फेला परेमा उजागर गर्न पत्रकारहरुलाई आग्रह समेत गरे । विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले स्वास्थ्य कार्यालयले पत्रकारहरुसँग गरेको अन्तक्र्रिया कार्यक्रमले केही हदसम्म भए पनि सचेतना जगाउनेमा विश्वास व्यक्त गरे । उनले क्षयरोग समयमै पहिचान भए निको हुने भएकाले आम नागरिकलाई यस विषयमा जानकारी गराउनु आवश्यक रहेको धारणा व्यक्त गरे ।

क्षयरोगका बिरामीले औषधि नियमित नखाइदिंदा रोगको रोकथाममा चुनौती थपिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख राजेन्द्र गिरीले बताए । उनले भने‘ क्षयरोगका बिरामीहरूले लामो अवधिसम्म उपचार केन्द्रमा आई दैनिक औषधि सेवन गर्नुपर्ने हुन्छ, तर यसलाई झन्झट मानेर धेरै बिरामी नियमित रूपमा औषधि सेवन गर्दैनन् । अर्कातिर, सिकिस्त बिरामी नपरी स्वास्थ्य परीक्षण नगराउने र रोग लुकाएर राख्ने जस्ता कारणले क्षयरोगीको संख्या घट्न सकेको छैन ।’ उनले सबै नागरिकमा क्षयरोगका बारेमा सचेतना फैलाउने काममा पत्रकारहरुको पनि ठूलो भूमिका रहने भएकाले त्यसतर्फ कलम चलाउन समेत पत्रकारहरुलाई आग्रह गरे । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले क्षयरोगका विषयमा आफुहरुले पनि धेरै कुरा सिक्न पाएको र आम नागरिकलाई सचेत बनाउन पनि अन्तक्र्रिया कार्यक्रमले महत्वपूर्ण टेवा पुग्ने बताए । कार्यक्रममा स्वास्थ्य कार्यालयका क्षयकुष्ठ रोग अधिकृत विश्वनाथ न्यौपानेले क्षयरोग के हो ? यसबाट बच्न के गर्नुपर्छ ? यसका लक्षणहरु, उपचार विधि, पाल्पामा क्षयरोगको अवस्था लगायतका विषयमा जानकारी गराएका थिए । उनले क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने, माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामको सुक्ष्म कीटाणुबाट हुने सरुवा रोग भएको समेत बताए । जसको समयमा परीक्षण गराएर औषधि नियमित खानुपर्नेमा उनले जोड दिए । न्यौपानेले क्षयरोगको जोखिम समूहमा जेष्ठ नागरिक, बालबालिका, स्वास्थ्यकर्मी, एचआईभी संक्रमित, मधुमेह भएका व्यक्ति, गर्भवती महिला, कैदी तथा बन्दी, अंग प्रत्यारोपण गरेका व्यक्तिहरु पर्ने बताए ।

क्षयरोग समयमै पहिचान भइए उपचार भएमा निको हुने क्षय कुष्ठरोग.सु.निरिक्षक टिकाराम अधिकारीले बताए । उनले भने ‘सुरुमै उपचार थाले निको भइहाल्छ । तर लापरबाही गरे कठिन हुन्छ ।’ क्षयरोगको औषधि निःशूल्क पाइने समेत उनले बताए । कार्यक्रममा पत्रकार,स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update