Shittalpati
नक्कली विरामी बोक्ने एम्बुलेन्स र चालक प्रहरी फन्दामा !

रामचन्द्र रायमाझी
पाल्पा,नक्कली विरामी बोक्ने एम्बुलेन्स र चालक प्रहरी फन्दामा परेका छन् । कोरोना विरुद्ध सावधानी अपनाउन सरकारले गरेको लक डाउनको बेवास्ता गर्दै नक्कली विरामी बोक्ने एम्बुलेन्स र चालक प्रहरीको फन्दामा परेका हुन् । जिल्लाको तानसेन–७, प्रभासबाट बागलुङ्ग खर्बाङ्तर्फ जाँदै गरेको लु २ च १४८० नम्बरको एम्बुलेन्सले ८ जना नक्कली विरामी राखेर सवार गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । निस्दी बोडिगार्ड सामुदायिक विकास केन्द्र गुल्मीद्वारा सञ्चालित एम्बुलेन्स र चालक मुसिकोट नगरपालिका १ का २८ वर्षका डम्वर बहादुर सुनारलाई नक्कली विरामी बोकेर बागलुङ्गतर्फ जाँदै गर्दा तानसेन ५ होलाङ्दीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चालक सुनारले भने बिरामीको नाटक गरेर यात्रुले आफुलाई झुक्याएको बताएका छन् । प्रहरीले नियन्त्रणमा लिएको एम्बुलेन्स र चालकलाई सवारी साधन अनुमति कार्यविधि २०७६ विपरीत एम्बुलेन्स चलाएकाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । पछिल्लो समय प्रहरीले लकडाउन उल्लंघन गरी सञ्चालन गरेका २ सय ३५ सार्वजनिक र निजी सवारी साधनहरुलाई नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update