Shittalpati
राष्ट्रपति कार्यालय : रामचन्द्रको प्रवेश, विद्याको बिदाइ

रामचन्द्र रायमाझी
पाल्पा, नेपालले तेस्रो राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेललाई पाएको छ । आज उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै राष्ट्रपतिको जिम्मेवारी पाउने छन् । नवनिर्वाचित पोडेलले आज दिउँसो १ बजे शपथ ग्रहण गरी राष्ट्रपति कार्यालय शितल निवास प्रवेश गर्ने छन् । उनको प्रवेशसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी भने विदाई हुनेछिन् । उनको दोश्रो चरणको ५ वर्षे कार्यकाल आइतबार रातिबाट सकिएको छ । राष्ट्रपतिको कार्यालयले नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथका लागि आज विशेष समारोहको तयारी गरेको छ । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानुन बमोजिम प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपने व्यवस्था छ ।

पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने छन् । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । उनले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी निर्वाचित भएका हुन् । मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए । राष्ट्रपति निर्वाचित भएपछि पौडेलले नेपाली काँग्रेसको सदस्यबाट राजीनामा दिएका छन् । उनले आइतबार केन्द्रीय कार्यालयमा पत्राचार गर्दै पार्टीको सदस्यबाट राजीनामा दिएका हुन् । रामचन्द्र मुलुकको तेस्रो राष्ट्रपति बनेका छन् । राष्ट्रपतिको कार्यकालको हिसाबले भने उनी चौथो कार्यकाल राष्ट्रपति बन्नेछन् । नेपालको संविधानमा मुलुकमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ ।

विद्यादेवी भण्डारीले कार्यकाल सकिएसँगै राष्ट्रपति कार्यालय छोड्दै छिन् । भण्डारी २०७२ कार्तिक ११ गते मुलुकको दोश्रो र पहिलो महिला राष्ट्रपति भएकी थिइन् । उनी २०७४ साल फागुन २९ मा पुनः राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । अघिल्लो कार्यकालमा केही सन्तुलन देखिएपनि भण्डारीको दोस्रो कार्यकाल भने निकै विवादित बन्यो । तत्कालिन प्रधानमन्त्री केपी ओलीले २ पटक संसद विघटन गर्दा तत्कालै सदर गरिदिएकी भण्डारीले नागरिकता विधेय रोकेपछि भने आलोचना भएको थियो । राष्ट्रपति भण्डारीको सवारीका क्रममा पनि जनताले अनावश्यक दुख पाएको भन्दै चौतर्फी आलोचना भयो । सरकारले नयाँ राष्ट्रपति रामचन्द्र पौडेलको शपथकै बेला भण्डारीलाई विदाई गर्ने तयारी गरेको छ ।

पौडेलले शपथ लिएसँगै भण्डारीले शितलनिवासबाट बुढानीलकण्ठ नगरपालिका–२ चपलीस्थित निजी निवासमा सर्ने भण्डारीको सचिवालयले जनाएको छ । पौडेल भने निजी निवास बोहराटारबाट शिलत निवास सर्ने छन् । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । नेपालमा विसं २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नपाउने संविधानमा उल्लेख छ । नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव हुन् । उनले २०६५ देखि २०७२ सालसम्म सात वर्ष कार्यकाल सम्हालेका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update