Shittalpati
उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी

पाल्पा, उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । शनिबार भएको उम्मेदवारी दर्तामा सत्ता गठबन्धनबाट तीन जना र एमालेबाट एक जनाको उम्मेदवारी परेको हो । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालबाट २ जना, जनमत पार्टीबाट १ र एमालेबाट एक जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव, प्रमिलाकुमारी यादव, जनमत पार्टीकी नेता ममता झा, नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता भएको हो । निर्वाचन आयोगले शनिबारका लागि उपराष्ट्रपतिको मनोनयन पत्र दर्ता गर्ने समय तोकेको थियो । आयोगले राष्ट्रपति पुरुष निर्वाचित भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने जनाएपछि सत्ता गठबन्धनबाट दुई जना महिलाको उम्मेदवारी परेको बताइएको छ । आइतबारसम्म गठबन्धनले आधिकारिक उम्मेदवार तय गर्ने जनाइएको छ ।

यादवविरुद्ध उजुरी

उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादवको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको भन्दै नेकपा एमालेले उजुरी दिएको छ । उपराष्ट्रपति पदका लागि एमालेबाट उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्य (बोहरा)को प्रतिनिधि एवं सांसद महेश बर्तौलाले नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार उजुरी दर्ता गरेका हुन् । राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवार यादवविरुद्ध उजुरी दिएको हो । यद्यपि जसपाबाट उम्मेदवारी दिएका यादवको नाममा शुक्रबार नै प्रश्न उठ्न थालेपछि जसपाबाटै प्रमिला यादवले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । आइतबार उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । त्यस्तै चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update