Shittalpati
पाल्पा त्रिभुवन बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी

पाल्पा, पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको छ । उसले स्ववियु निर्वाचनको मनोनयन गर्ने समयमा विभिन्न माग राखेर कार्यालयमा तालाबन्दी गरेको हो ।

शनिबार मनोनयन दर्ता गर्ने सूची अनुसार विभिन्न विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ताको अन्तिम तयारी गरिरहेका बेला अखिलले तालाबन्दी गरेको छ ।

क्याम्पस प्रशासनले बिबिए, बिबिएमका विद्यार्थीहरुलाई स्ववियुुको बारेमा जानकारी गराउन नदिने, उम्मेदवार हुन नपाउने, तर निर्वाचनमा गलत नियतका साथ सहभागी गराउने निर्णय गरेको प्रति अखिलले आपत्ति जनाएको छ । उसले स्ववियुुको बारेमा सबै विद्यार्थीलाई विद्यार्थी संगठनले जानकारी गराउन पाउनुुपर्ने, विद्यार्थी कल्याण, स्ववियुु, पुस्तकालय, अतिरिक्त क्रियाकलाप लगायतमा भएको खर्चको सार्वजनिक सुुनुुवाई हुुनुुपर्ने लगायतका माग राख्दै स्ववियु निर्वाचन कार्यालय र क्याम्पस प्रमुुखको कार्यालयमा ताला लगाएको छ । उसले माग पुरा नभएसम्म स्ववियु निर्वाचन कार्यालयमा लगाइएको तालाबन्दी नखोल्न आग्रह गरेको छ । ‘उल्लेखित माग सम्बोधन नभएसम्म स्ववियु निर्वाचन कार्यालय अनिश्चितकालीन तालाबन्दी गरिएको छ । तालाबन्दी खोल्ने दुस्साहस गरेमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयं निर्वाचन समिति र क्याम्पस प्रशासन हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

अखिल बाहेका अन्य विद्यार्थी संगठनले भने समयमै निर्वाचन गराउन माग गरेका छन् । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र निकट अनेरास्ववियू,राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, एकीकृत समाजवादी निकट अनेरास्ववियू,असंलग्न विद्यार्थी युनियन लगायतका विद्यार्थी संघ गठनहरुले एमाले निकट अनेरास्ववियूले पराजितको मानसिकता देखाएर तालबन्दी गरेको बताएका छन् । उनीहरुले निर्वाचनको वातावण सिर्जना गरी समयमै निर्वाचन गराउन क्याम्पस प्रशासन र निर्वाचन समितिलाई ज्ञापनपत्र बुुझाएका छन् ।

चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि आज २ बजेसम्म मनोनय दर्ता गर्ने कार्यसूूचि भए पनि हुन सकेको छैन् । अहिले निर्वाचन समिति, क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरु छलफल गर्ने तयारीमा छन् । विद्यार्थीहरुको जायज मागहरु सम्बोधन गर्ने गरी वार्ताका लागि संगठनका प्रतिनिधिहरुलाई बोलाइएको क्याम्पस प्रमुख टंक भट्टराईले बताए । सबै विद्यार्थी संगठनहरुसँग छलफल गरी छिट्टै मनोनय दर्ता गर्ने तयारीमा आफुुहरु रहेको निर्वाचन अधिकृत जीवन थापाले बताए ।

यहाँ २ हजार ४ सय २२ मतदाता छन् । यहाँ स्ववियु निर्वाचनका लागि सात दल र एक असंलग्न संगठनले दर्ता गरेको छ । निर्वाचन कमिटिका सदस्य सचिव पुष्कर आचार्यका अनुसार काँग्रेस निकट नेपाल विद्यार्थी संघ, एमाले निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन, माओवादी केन्द्र निकट अनेरास्ववियू, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौ, राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, एकीकृत समाजवादी निकट अनेरास्ववियू र नेकपा (बहुमत) निकट अनेरास्ववियूले दर्ता गराएका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update