Shittalpati
उपराष्ट्रपतिमा पुरूष उम्मेदवार हुन नपाउने

पाल्पा,निर्वाचन आयोगले उपराष्ट्रपतिको उम्मेदवार महिलानै हुनुपर्ने स्पष्ट पारेको छ । आयोगले राष्ट्रपति पुरुष र खस आर्य समुदायबाट भएका कारण उपराष्ट्रपति राष्ट्रपति भन्दा फरक समुदाय र लिङ्गबाट हुनुपर्ने स्पष्ट पारेपछि पुरुष उम्मेदवार हुन नपाउने भएका हुन् ।

आयोगको शुक्रबार बसेको बैठकले उम्मेदवारको योग्यता क्रममा थप स्पष्ट पार्दै राष्ट्रपतिको पदमा खासआर्य समुदायका पुरुष (रामचन्द्र पौडेल) निर्वाचित भएकाले उपराष्ट्रपतिमा फरक लिङ्ग वा फरक समुदायको मात्र उम्मेदवार हुनसक्ने निर्णय गरेको छ । बैठकपछि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ताका सन्दर्भमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित सम्माननीय राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ ।’ ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ६५ को उपदफा २ बमोजिम दिइएको निर्देशनमा नेपालको संविधानको धारा ७० मा यस संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक–फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा ‘यस दफा बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिंग वा समुदायको हो सो भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ ‘२०७९ साल फागुन २५ गते सम्पन्न भएको राष्ट्रपतिको निर्वाचनमा खस–आर्य समावेशी समूहका पुरुष व्यक्ति श्री रामचन्द्र पौडेल निर्वाचित हुनुभएको हुँदा स्वीकृत निर्वाचन कार्यक्रम अनुसार यही फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने व्यहोरा उल्लेख गरिएको छ’ विज्ञप्तिमा भनिएको छ । उपराष्ट्रपति पदको निर्वाचन चैत ३ गते हुँदै छ । जसका लागि उम्मेदवारी दर्ता आज हुँदैछ ।

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update