Shittalpati
प्रधानमन्त्री दाहालविरुद्धको रिटमा कारण देखाऊ आदेश

पाल्पा,सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रचण्डको नाममा आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले १५ दिनभित्र आफैं उपस्थित भएर वा प्रतिनिधिमार्फत लिखित जवाफ दिन आदेश दिएको छ । निवेदक ज्ञानेन्द्रराज आरण लगायतले द्वन्द्वकालमा भएका हत्याका विषयमा माओवादी अध्यक्ष दाहाललाई जिम्मेवार रहेको आरोप लगाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर ज्ञानेन्द्रराज आरणको माग बमोजिम अन्तरिम आदेश भने जारी भएको छैन ।

रिट निवेदनमा उठाइएको विषयको महत्व,गम्भीरता तथा सम्वेदनशीलतातर्फ दृष्टिगत गर्दा प्रस्तुत विषयको निरुपण छिटो छरितो रुपमा गर्नु मनासिव देखिएकाले सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७३ (१) बमोजिम अग्राधिकार दिइएको आदेशमा भनिएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले मंगलबार सर्वोच्च अदालतमा प्रचण्डविरुद्व रिट दायर गरेका थिए । अधिवक्ता आरण र बुढाथोकीले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका हुन् ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update