Shittalpati
रेडक्रसले बाड्यो पाल्पाका एम्बुलेन्स चालकलाई पिपिइ

पाल्पा, जिल्लामा स्वास्थ्य सामग्रीको अभावमा एम्बुलेन्स चालकले जोखिम मोलेर सेवा गरिरहनु परेको व्यापक गुनासो आइरहेका बेला सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटी पाल्पाले भने एम्बुलेन्स चालकहरुलाई (पर्सनल प्रोटेक्टिभ इक्यूपमेण्ट) पिपिइ वितरण गरेको छ । अस्पतालमा जस्ता सुकै विरामीहरु पनि लैजानुपर्ने भएकाले एम्बुलेन्स चालक असुरक्षित हुने बन्दै रेडक्रसले जिल्लामा सञ्चालित १२ वटा एम्बुलेन्सका चालकहरुलाई पिपिइ वितरण गरेको हो । उक्त पिपिइ बगनाशकाली गाउँपालिका निवासी जीवन खनालको समन्वयमा उपलव्ध भएको थियो ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाईरसबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि रेडक्रसले आफ्ना प्रयासहरु जारी राखेको छ । समुदायमा मोटिभेटरहरु र परियोजना कर्मचारीहरुले बाहिरबाट आएकाहरुलाई विशेष ख्याल गर्दै दैनिक फोन गर्ने र स्वास्थ्यको बारेमा जानकारी लिने समेत गरेको रेडक्रसका कार्यक्रम अधिकृत विनोद भारतीले बताए । रेडक्रसले यस अघि तानसेन नगरपालिका अन्तर्गत सञ्चालन भएका १० वटा एम्बुलेन्स चालक, नगरपालिका भित्र परिचालित ११ जना ट्राफिक प्रहरी र खानेपानी कार्यालय अन्र्तगत नियमित परिचालित ८ जना लायन्सम्यानहरुलाई सेनीटाइजर, सर्जिकल माक्स र ग्लोवस् समेत वितरण गरेको थियो ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमणबाट सुरक्षित रहनका लागि सन्देश स्वरुप स्वास्थ्य सामग्री वितरण गर्दै आएको शाखाका सभापति बुद्धिप्रसाद शर्माले बताए । उनले भने ‘एम्बुलेन्स चालकलाई सुरक्षित उपकरण आवश्यक छ,’। जिल्लामा अहिले १२ जना एम्बुलेन्स चालक रहेका छन् । एम्बुलेन्स ‘क्याविन’ वाला नभई सामान्य रहेकाले कोरोनाको संक्रमण चालकमा सहजै सर्न सक्ने हुन्छन् । एम्बुलेन्स चालकमात्र होइन स्वास्थ्यकर्मी पनि समेत कोरोनाको संक्रमणको जोखिममा रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update