Shittalpati
आगलागीमा परी घाइते भएकाहरुको कुरा संसद्मा उठ्यो

पाल्पा, कालीगण्डकी गाउँपालिका–७ भुर्तुङ्गमा आगलागीमा परी घाइते भएका १८ वर्षीय नामु भारती र १६ वर्षीय टीका गिरीका विषयमा संसद्मा कुरा उठेको छ । नेपाली काँग्रेस गुल्मी क्षेत्र १ का सांसद् डा. चन्द्र भण्डारीले प्रतिनिधिसभाको आइतबारको बैठकमा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले भनेका छन् ‘गुल्मी भुर्तुङ्गका युवाहरु जंगलमा लागेको आगो निभाउन जाँदा लजेर अत्यन्त दर्दनाक अवस्थामा छन् र उनीहरु पाल्पाको मिसन अस्पतालमा उपचार गराई रहेका छन् । उनीहरुको स्वास्थ्य लाभको कामना गर्न चाहन्छु ।’ जसले गाउँ र मानिसको सुरक्षाका लागि आफ्नो ज्यान जोखिममा राखे उनीहरुको उपचारको व्यवस्था सरकारले गर्नु पर्ने भन्दै सांसद भण्डारीले सरकारको ध्यानाकर्षण गराए । उनले भने‘ आफ्नो ज्यान जोखिममा राखेर समाज सेवा गर्नेहरुको सरकारले उपचारको छिटो व्यवस्था गरोस् ।’

नवजनचेतना दैनिक र शितलपाटी डटकमको प्रकाशित समाचारबाट घटना थाहा भएपछि स्थानीय, केन्द्रीय र संसद्मा नेताहरुले घाइतेहरुको उपचारमा चासो देखाएका हुन् । बिहीबार साँझ भुर्तुङ्ग, खस्कोट नजिकैको थाम भीरमा लागेको आगो नियन्त्रण गर्न पुगेका उनीहरु आगोमा परी घाइते भएका थिए । नजिकैको वस्तीलाई डढेलोबाट बचाउन स्थानीय एक दर्जन युवाहरु आगो नियन्त्रणमा जुटेका थिए । भिरमा सल्किएको आगो निभाउने क्रममा भारती र गिरी घाइते भएका हुन् । उनीहरुको शरीरका विभिन्न भागमा आगोले जलेको छ । घाइते दुवै जनाको अहिले मिसनमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्थामा सुधार हुुँदै गएको अस्पतालले जनाएको छ ।

 

 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update