Shittalpati
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ

पाल्पा, सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा शाहले प्रदेश प्रमुख देवराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

बिहीबार प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । मुुख्य मन्त्री शाहसहित दुुई मन्त्रीले पनि शपथ लिएका छन् । प्रदेश प्रमुख जोशीले मुख्यमन्त्रीसहित नेकपा एसका नरेश शाही र काँग्रेसका प्रकाश देउवालाई मन्त्रीको शपथ गराए । देउवा काँग्रेस सभापति शेरबहादुर देउवाका भतिज हुन् । शाही आर्थिक मामिला र देउवा भौतिक पूर्वाधारमन्त्री बनेका हुन् ।

एमालेका मुख्यमन्त्री राजन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि संबैधानिक प्रावधानअनुसार बिहीबार काँग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका थिए । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि राजेन्द्रसिंह रावल नेतृत्वको सरकार ढलेको थियो । मुख्यमन्त्री शाहले अब एक महिनाभित्र विश्वासको मत लिनुपर्ने छ । तर नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ माग गर्दै आएको छ । रिहाइ नभएसम्म कुनै पनि सरकारलाई विश्वासको मत नदिने अडानमा नागरिक उन्मुक्ति पार्टी रहेकाले पनि शाह नेतृत्वको सरकारलाई विश्वासको मत लिन चुनौति छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update