Shittalpati
पाल्पामा पिपिइको अभाव, जोखिम मोलेरै स्वास्थ्यकर्मी उपचारमा

कृष्ण पोखरेल/रामचन्द्र रायमाझी
पाल्पा, जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरु उपकरण नहुँदा जोखिम मोलेरै उपचारमा खटिन बाध्य भएका छन् । हेल्थ डेस्क,क्वारेन्टाईनदेखि स्वास्थ्यचौकीमा नियमित खटिएका स्वास्थ्यकर्मीहरु उपकरण अभावमै जोखिम मोलेर चेकजाँच गर्न बाध्य भएका हुन् । स्वास्थ्यकर्मीलाई अत्यावश्यक पर्ने थर्मोगन र (पिपिइ) सेट नहुँदा जोखिम बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको मेडिकल गुणस्तरी पिपिइको अभाव भएपछि स्वास्थ्यकर्मीहरु समस्यामा परेका छन् । केही स्थानीय तहहरुले प्लाष्टीककै पिपिइ समेत उपलब्ध गराउन नसकेको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् । उनीहरुले सुरक्षाका उपकरण नभएपछि कसरी उपचारमा खटिने भन्दै दुःख व्यक्त गरेका छन् ।

सुरक्षा सामग्रीको अभाव भएपछि केही स्वास्थ्यकर्मीहरु बिरामीको नजिक जानसमेत डराउने र बिरामीलाई नछोएरै टाढैबाट औषधि लेख्ने गरेको समेत पाइन्छ । पिपिइ अभावले स्वास्थ्यकर्मीहरुलाई जोखिम मात्रै होइन उनीहरुबाट अन्य व्यक्तिमा संक्रमण हुने खतरा समेत बढेर गएको छ । दिनहुँ स्वास्थ्य परीक्षणका लागि गाउँ–गाउँ हिड्नु परेको अवस्थामा माक्सको भरमा काम गर्नु परेकाले पिपिइ अभावमा आफैलाई सक्रमण भई अन्य व्यक्तिमा सर्ने चिन्ता बढेको रैनादेवी छहरा गाउँपालिका भुवनपोखरीका स्वास्थ्य चौकीका इन्र्चाज रामप्रसाद न्यौपानेले बताए । पिपिइ बिना जिल्लाका अधिकांश स्वास्थ्यकर्मीहरु विदेशबाट आएका व्यक्तिहरुको स्वास्थ्य परीक्षणमा घर घर पुग्ने गरेका छन् । भारतबाट फर्किएका २१ जनालाई क्वारेन्टाइनमा राखेको पूर्वखोला गाउँपालिकासँग एउटा पनि पिपिइ छैन ।

गाउँपालिकाका स्वास्थ्यकर्मीले पिपिइ बिना दिनहँु क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको नियमित स्वास्थ्य परीक्षण गर्दै आएका छन् । बजारमा कहि कतै नपाइएको र सरकारी निकायबाट समेत स्वास्थ्य सामग्री उपलब्ध हुन नसकेको गाउँपालिकाले जनाएको छ । विरामीसँग प्रत्यक्ष भिड्ने स्वास्थ्यकर्मी तथा चिकित्सकहरुका लागि पर्सनल प्राटेक्टिभ इक्युमेन्ट (पिपिई) को अभाव रहेको छ । जसको कारण चिकित्सकहरुले उच्च मनोवलका साथ काम गर्न सकेका छैनन् भने बिरामीको उपचारमा समेत चुनौती थपिएको छ । जिल्लामा सरकारी, निजी अस्पताल तथा गाउँपालिकाका स्वास्थ्य चौकी गरी ८५ स्थानमा ज्वरो क्लिनिक सञ्चालनमा आएपनि प्राप्त मात्रामा चेकचाँजका उपकरणहरु नहुँदा स्वास्थ्कर्मीहरुलाई समस्या उत्पन्न भएको छ ।

पूर्वखोला, रामपुर, रिब्दीकोट र रैनादेवी छहरा गरी ४ स्थानका क्वारेन्टाइनमा ३७ जना भारतबाट आएका व्यक्ति राखिएका छन् । नत ज्वरो क्लिनिक चेकजाँच कर्ताले पिपिइ लगाएका छन्, नत नियमित क्वारेन्टाइनमा चेकजाँच गर्ने स्वास्थ्यकर्मीहरुले नै । क्वारेन्टाइनमा माक्स लगाएर २१ जना शंकास्पद व्यक्तिको चेकजाच गरिर्दै आएको पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । उनले भने ‘स्वाथ्यकर्मीले बिना सुरक्षा विरामीको चेक गर्दै आएका छन्, संक्रमित हुने डर उनीहरु उच्च मनोवलका साथ काम गर्न सकिरहेका छैन ।’ नियमित चेकजाँच गर्ने क्वारेन्टाइन, आइसोलेसनमा रहेका शंकास्पद विरामीको नियमित चेकजाँच तथा रेखदेख र अस्पतालमा दैनिक रुपमा आउने शंकास्पद बिरामीको परीक्षणमा सहभागी हुने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पिपिइ अनिवार्य छ, तर जिल्लामा पिपिइको अभावले चिकित्सकहरुमा मनोवल घटाएको छ ।

केही स्थानीय सरकारले महङ्गो मूल्यमा २ देखि १० वटासम्म पिपिइ खरिद गरेर काम चलाएका छन् । बजारमा कहि कतै नपाएपछि स्थानीय स्वास्थ्यकर्मीहरुले माक्सको भरमा काम गर्दै आएका छन् । शंकास्पद कोरोना संक्रमितको उपचारमा रहेका चिकित्सक, स्वाब संकलन, ल्याब, एक्सरे तथा अन्य थप परीक्षणमा संलग्न व्यक्ति, सरसफाईमा संलग्न कर्मचारी, एम्बुलेन्स चालक र सुरक्षार्थ गार्डका लागि पिपिइ आवश्यक भएपनि उनीहरुले अहिले सम्म पिपिइ पाएका छैनन् । जिल्लामा ७१ थान पिपिइ आए पनि जिल्लाका प्रमुख अस्पताल र केही स्वास्थ्य संस्थामा वितरण गर्दा सकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । लुम्बिनी मेडिकल कलेज, युनाइटेड मिशन अस्पताल, पाल्पा अस्पताल, रामपुर अस्पतालले ३८ वेडको आइसोलेसन सञ्चालनमा ल्याएका छन् ।

यी अस्पतालमा समेत पिपिइको अभाव भएको भन्दै अस्पतालका प्रमुखहरुले जिल्लाको कोरोना नियन्त्रण उच्चस्तरीय समितिसंग माग गर्दै आएका छन् । सरकारबाट ५ वटा र कलेजले आफैले १५ वटा पिपिइ खरिद गरेकोमा हाल सकिने अवस्थामा पुगेकाले सरकारले प्रर्याप्त मात्रामा पिपिइ उपलब्ध गराउनुपर्ने लुम्बिनी मेडिकल कलेजका निर्देशक डा.राजु शाक्यले बताए । जिल्लामा पिपिइ अभाव भएपछि जिल्ला स्तरीय कोरोना संक्रमण रोकथाम कमाण्ड पोष्टले प्रदेश सरकारसंग माग गरेपनि हालसम्म आएको छैन । पाल्पा अस्पताल र रामपुर अस्पताललाई प्रदेश सरकारबाट उपलब्ध गराएको १० थान पिपिइ सकिने अवस्थामा पुगेको छ । सरकारले तत्काल, पिपिइ लगायतका स्वास्थ्य सामग्री नपठाए समस्या उत्पन्न हुने पाल्पा अस्पतालका निमित्त प्रमुख डा.पुष्प ज्ञवालीले बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update