Shittalpati
रामपुरका महिलालाई अगरबत्ती बनाउने तालिम

पाल्पा (रामपुर), जिल्लाको रामपुर नगरपालिका–६ तिलकपुरमा महिलाहरुका लागि अगरबत्ती बनाउने तालिम सञ्चालन गरेको छ । रामपुर सिकाई केन्द्रले यहाँका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले अगरबत्ती बनाउने दुई दिने तालिम सञ्चालन गरेको हो ।
तालिमको शुक्रबार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ । तालिमको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर उपप्रमुख बालकुमारी थापाले सीपमूलक तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिइन् । उनले महिलाहरु आत्मनिर्भर बन्न सके पुरुषहरुको भर पर्नु नपर्ने धारणा व्यक्त गरिन् । उपप्रमुख थापाले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न समेत महिलाहरुलाई आग्रह गरिन् । उनले सीपको उपयोग गरी आयआर्जनको माध्यम बनाउनुपर्नेमा जोड दिइन् । तालिममा सिकेका सीपले आयआर्जनमा वृद्धि गरी आत्मनिर्भर बन्न सके मात्रै तालिम सञ्चालन गर्नुको औचित्य पुरा हुने उपप्रमुख थापाको भनाई थियो । पछिल्लो समय हरेक महिलाहरु धेरै तालिममा सहभागी हुने तर उद्यमी बन्ने महिलाको संख्या अत्यन्त न्यून रहेको बताउँदै उनले महिलाहरुलाई उद्यमी बन्न समेत आग्रह समेत गरिन् । आत्मनिर्भर बन्नका लागि उद्यम व्यवसाय गरे नगरपालिकाले अनुदान सहयोग दिने पनि प्रतिवद्धता व्यक्त गरिन् । उद्यमीले उत्पादन गरेको वस्तु उपप्रमुख कोशेली घर कार्यक्रम अन्तर्गत नगरपालिकाले खरिद गर्ने पनि उनले बताइन् ।

यस्तै कार्यक्रममा रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्लेले तालिमको माध्यमबाट व्यवसायी बन्न आग्रह गरे । उद्देश्य अनुरुप काम गर्ने केन्द्र कमै मात्र रहेको भन्दै रामपुर सिकाई केन्द्रले सीपमूलक तालिम सञ्चालन गरेर उदहारणीय काम गरेको बताए । रामपुर सिकाई केन्द्रका अध्यक्ष देवराज ढकालले पाल्पाकै दोस्रो सिकाई केन्द्र भएको भन्दै विगतमा केन्द्रले धेरै क्षेत्र समेटे पनि पछिल्लो समय १५ वटा समुहका महिला दिदी बहिनिहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले यसलाई नमुना सिकाई केन्द्रको रुपमा स्थापित गर्ने समेत बताए । कार्यक्रममा रामपुर नगरपालिकाका कार्यपालिका सदस्य शारदा आचार्य, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाका अध्यक्ष सागरप्रसाद देवकोटा लगायतले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गरे ।

तालिमको प्रशिक्षक रेश्मी देवकोटाले सहजिकरण गरिरहेकी छन् । रामपुर सिकाई केन्द्रका अध्यक्ष देवराज ढकालको अध्यक्षता, केन्द्रका सदस्य घनश्याम खनालको स्वागत, मञ्जु कंडेलको सञ्चालनमा तालिम शुभारम्भ कार्यक्रम भएको थियो । रामपुर नगरपालिका शिक्षा शाखाको सिकाई केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत विनियोजित बजेटमार्फत तालिम सञ्चालन गरिएको हो ।

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update