Shittalpati
सभामुखमा काँग्रेस र एमालेको उम्मेदवारी

पाल्पा, प्रतिनिधिसभा सभामुखका पदका लागि काँग्रेस र एमालेले उम्मेदवारी दिएका छन् । विहिबार हुने निर्वाचनका लागि काँग्रेस र एमालेले आ–आफ्ना उम्मेदवारी उठाएका हुन् । बुधबार नेपाली काँग्रेसले सांसद ईश्वरी न्यौपाने र नेकपा एमालेका देवराज घिमिरेलाई सभामुखमा उठाएका हुन् ।

प्रतिनिधिसभा सभामुखका पदका लागि काँग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दिएकी छन् । नयाँ बानेश्वारस्थित संसद् भवनमा पुगेर उनले बुधबार सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला र काँग्रेस सांसद रमेश लेखक छन् । उनलाई माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन रहेको छ ।

यस्तै नेकपा एमालेका देवराज घिमिरेले पनि मनोनयन दर्ता गराएका छन् । बुधबार संसद् सचिवालयमा उनले प्रतिनिधिसभाको सभामुखका लागि मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन् । झापा–२ बाट निर्वाचित भएर पहिलोपटक प्रतिनिधिसभा सदस्य बनेका घिमिरे ०५६ मा राष्ट्रिय सभा सदस्य चुनिएका थिए । अहिले उनी एमालेको स्थायी कमिटी सदस्य छन् । एमालेमा सभामुखका लागि पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, छविलाल विश्वकर्मा र विद्या भट्टराई चर्चामा थिए ।

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update