Shittalpati
नवलपुरबाट आएका ६ जनालाई रामपुर नगरले राख्यो क्वारेन्टाइनमा

इमान सिं राना
पाल्पा (रामपुर) । रामपुर नगरपालिकाले थप ६ जनालाई क्वारेन्टाइनमा राखेको छ । बुधबार राति विनय त्रिवेणी गाउँपालिका नवलपुरबाट निस्दी गाउँपालिकाको मित्याल हुँदै रामपुर ६ तिलकपुर आएका उनीहरुलाई नगरपालिकाले क्वारेन्टाइनमा राखेको हो ।

रामपुर ४ ले कालिका आधारभूत विद्यालय देविस्थानमा निर्माण गरेको क्वारेन्टाईनमा उनीहरुलाई बस्ने व्यवस्था मिलाएको छ । अन्य स्थानबाट ६ जनाको समूह रामपुर आएको जानकारी हुन साथ नगरपालिकाले प्रहरीको सहयोगमा उनीहरुलाई रामपुर ६ तिलकपुुर स्थित मण्डली घरबाट ल्याई देविस्थानमा राखिएको नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिए । क्वारेन्टाइनमा राखिएका उनीहरुको स्वास्थ्य परीक्षण समेत गरिएको छ । यससंगै रामपुर नगरपालिकामा क्वारेन्टाईनमा बस्नेको संख्या १७ पुगेको छ । बालकल्याण प्राथमिक विद्यालय रामपुर ५ सानीअमराईमा भारतबाट आएका ११ जना बस्दै आएका छन् । रामपुर नगरपालिका वडा १ छम्केमा रहेका ३ जना भने घर मै बस्न थालेका छन् । नगरपालिकाले क्वारेन्टाईनमा रहनेहरुको समय समयमा स्वास्थ्य परीक्षण गर्नुको साथै नगरपालिकाले खानाको समेत व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update