Shittalpati
मन्त्रिमण्डल विस्तार, नवनियुक्त मन्त्रीले लिए शपथ

पाल्पा, प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मंगलबार एक उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ राज्य मन्त्री नियुक्त भएका छन् । योसँगै मन्त्रिमण्डल २३ सदस्यीय पुगेको छ । पुस १० गते ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका प्रचण्डले मंगलबार दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै २३ सदस्यीय बनाएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नयाँ मन्त्री नियुक्त गरेको र जिम्मेवारी हेरफेर गरेको जनाएको छ ।

नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएकी छन् । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र २ राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । उपप्रधानमन्त्री र मन्त्रीहरूको शपथ राष्ट्रपति भण्डारीले गराएकी हुन् भने राज्यमन्त्रीहरूको शपथ प्रधानमन्त्री दाहालले गराएका हुन् । एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३/३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएको छ । माओवादी, रास्वपा र राप्रपाले १÷१ राज्यमन्त्री पाएका छन् । मंगलबार राप्रपाबाट ध्रुवबहादुर प्रधान कानुनमन्त्री र विक्रम पाण्डेले सहरी विकासमन्त्री र दीपकबहादुर सिंहले ऊर्जा राज्यमन्त्रीका रूपमा शपथ लिएका छन् । त्यस्तै एमालेबाट विमला राई पौड्यालले परराष्ट्र, पदम गिरीले स्वास्थ्य, भगवती चौधरीले महिला बालबालिकामन्त्री तथा हरि उप्रेतीले रक्षामन्त्रीका रूपमा शपथ लिएका छन् । त्यस्तै माओवादीबाट रेखा शर्माले सूचना, सञ्चार तथा प्रविधि, सुदन किरातीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री र अमनलाल मोदीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रूपमा शपथ लिएका छन् । माओवादीबाट मन्त्री बनेकी सुशीला श्रीपाली भने शपथग्रहण कार्यक्रममा उपस्थित भएकी थिइनन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनालले शिक्षामन्त्री, डोलप्रसाद अर्यालले श्रम तथा समाजिक सुरक्षामन्त्री तथा डा. तोसिमा कार्कीले स्वास्थ्य राज्यमन्त्रीका रूपमा शपथ लिएका छन् । प्रधानमन्त्री प्रचण्डसँगै वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी छ ।

मन्त्रिमण्डलको पहिलो बरियतामा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ छन् । त्यस्तै दोस्रो बरियतामा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल छन् । उपप्रधान र भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो बरियताक्रममा छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बरियताक्रम चौथो छ । पाँचौ बरियताक्रममा राप्रपाका अध्यक्ष उपप्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री राजेन्द्रप्रसाद लिङ्देन छन् ।

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update