
रामचन्द्र रायमाझी
पाल्पा, पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर दिवंगत विमान परिचारिका (एयर होस्टेस) सिर्जना हुङचुङ (सिर्जु थापा) लाई सम्झेर उनको जन्म गाउँ पाल्पाको बगनासकाली गाउँपालिका–९ चापपानी सिरुङ्गा नै शोकमग्न छ । हुङचुङको निधनले परिवारजन पीडामा छन् नै आफ्नो गौरव गुमाउनु पर्दा उनको जन्मस्थान सिरुङ्गावासी र गाउँपालिकावासी समेत मर्माहत भएका छन् ।
हाल उनको परिवार रुपन्देही सैनामैना– ५ मुर्गीयाचोक बस्दै आएको भए पनि पाल्पाको सिरुङ्गामा अंकल, अन्टी सहित आफ्न्तहरु छन् । यहाँ आइतबार मध्याह्नदेखि नै शोक छायो । ‘विहान १० बजेतिर सिर्जनाको माइला दाजुु बुटवल बस्दै आएका तेजेन्द्र हुङचुङसँग कुराकानी भइरहको थियो । हामी धेरैबेर दुुई दाजुुभाईबिच कुरा भएको थियो । फोन राखेको दुई घण्टापछि पोखरामा विमान दुर्घटनाको खबर पाइयो’ सिर्जनाको अंकलका छोरा विजयराम हुुङचुङले भने । उनले भने,‘दुर्घटनाको खबर पाए पनि बहिनी दुर्घटनामा परेको खबर हामीलाई थाहा थिएन्, एक्कासी दिउँसो दाई तेजेन्द्रले बहिनी पनि दुर्घटनामा परिछन् भनेर फोन गरेपछि म अत्यन्त भावुुक बने ।’ परिवारमा नसोचेको घटना भयो विजयरामले एनजेडीसँगको कुराकानीमा बताए । अहिले परिवारसहित सिङ्गो सिरुङ्गा गाउँ नै शोकमा रहेको बगनासकाली गाउँपालिका–९ का वडा अध्यक्ष थानेश्वर तिमिल्सीनाले बताए । उनको निधनपछि सिरुङ्गामा बस्दै आएका सिर्जनाका अंकल, अन्टीसहित आफन्तलाई सान्त्वना दिने काम गरिरहेको उनले जानकारी दिए । २०७२ देखि विमान परिचारिकाका रूपमा काम गरेकी २९ वर्षीया सिर्जना घरकी एक्ली छोरी थिइन् । उनका तीन दाजुुभाइ रहेका छन् । शनिबार साँझ उनले घरमा कुरा गरेर आइतबारको पोखरा उडानबारे परिवारलाई बताएकी थिइन् । त्यही कुराकानी उनको अन्तिम भइदियो । आइतबारको कुराकानीमा सिर्जनाले ६१ वर्षीया आमा खिमसरासँग आफूलाई मनपर्ने बटुका पकाएर पठाइदिन भनेकी थिइ ।
आइतबार विमान दुर्घटना हुँदा खिमसरा छोरीलाई पठाउन बटुक पकाउँदै थिइन् । यत्तिकैमा बिहान ११ः३० बजेतिर पोखरामा विमान खस्यो भन्ने समाचार जताततै फैलियो । पछि यति एयरकै जहाज दुर्घटनामा सिर्जना पनि परेको थाहा पाएपछि उनलाई पत्याउन कर लाग्यो र सैनामैनामा रहेको सिर्जनाको घरमा रुवावासी सुरु भयो । सिर्जनाका छिमेकी जम्मा हुनथाले सिङ्गो गाउँ नै शोकमा परिणत भयो । एक दिन अगाडि फोनमा छोरीसँग घण्टौँ कुरा गरेकी खिमिसरालाई त्यो घटना सुरुमा विश्वास गर्न गाह्रो भयो तर केही छिनमै सामाजिक सञ्जाल र मिडियामा नामसहित विवरण आउन थालेपछि खिमिसरालाई पत्याउन कर लाग्यो । प्लस–टुसम्म सैनामैनाकै सिद्धार्थ मेमोरियल एकेडेमीमा अध्ययनरत सिर्जनाले बुटवलको क्रिमसन कलेज अफ टेक्नोलोजीबाट स्नातक तहसम्म अध्ययन पूरा गरी बुटवलकै सहारा एकेडेमीबाट एयर होस्टेस तालिम लिएर २०७२ सालदेखि यती एयरलाइन्समा काम गरिरहेकी थिइन् । आइतबार बिहान १०ः३२ मा काठमाडौँबाट उडेको यती एयरलाइन्सको जहाज पोखराको सेती नदीको खोँचमा दुर्घटना भएको थियो । विमानमा ६८ यात्रु र चालकदलका चार सदस्यसहित ७२ जना थिए । जसमा ७० जनाको शव भेटिएको छ।