Shittalpati
सभामुख र राष्ट्रपतिमा काँग्रेसको दावी रहन्छ : केन्द्रीय सदस्य सतार

कृष्ण पोखरेल
पाल्पा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष अब्दुल सतारले सभामुख र राष्ट्रपतिमा काँग्रेसको दावी रहने बताएका छन् । लोकतन्त्र प्रजातन्त्रलाई संस्थागत गर्न, नेपालको संविधान २०७२ लाई रक्षा गर्न नेपाली काँग्रेसले सभामुख र राष्ट्रपतिमा काँग्रेसको दावी गर्ने बताए । नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य सतारले नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीबाट पुनः प्रतिगमनको खतरा बढेको र संसद विघटन वा मध्यावादी निर्वाचनको खतराको संकेत गरेपछी नेपाली काँग्रेसले लोकतन्त्र ,प्रजातन्त्र बचाउन माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएको धारणा व्यक्त गरे ।

माओवादी सरकारलाई विश्वासको मत दिए पनि पार्टी सरकारमा सहभागी नहुने र प्रतिपक्षमै रहने केन्द्रीय सदस्य सतारले बताए । नेपाली काँग्रेस कार्यसम्पादन समितिले अक्षमता, अदुरदर्शिता, एकहोरो जिद्धिपनाका कारण ठूलो पार्टी भएर पनि सत्ता गुमाउनु परेको केन्द्रीय सदस्य सतारले बताए । अहिले काँग्रेसलाई खाने बेलामा दातमा ढुङ्गा लागेर खाना खानै नपाएको परिस्थिति आएको वर्तमान ७ दलको गठबन्धन दीर्घकालिन नभएको केन्द्रीय सदस्य सतारले जोड दिए । मुलुकमा स्थायीत्वका लागि जुनसुकै बेला नेपाली काँग्रेस र नेकपा एमालेको सहकार्यमा बलियो सरकार बन्ने अवस्था रहेको केन्द्रीय सदस्य सतारले खुलासा गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल लगायतले वर्तमान अवस्थामा नेपाली काँग्रेसको अवस्था र प्रेस युनियनले खेलेको भूमिकाका बारेमा चर्चा गरेका थिए । प्रेस युनियनका कार्यवाहक सभापति पुष्करराज रेग्मीको सभापतित्व, उपाध्यक्ष मन गहिरेको स्वागत र सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

यसैगरी केन्द्रीय सदस्य सतारलाई नेपाली काँग्रेस पाल्पाले पार्टी कार्यालयमा स्वागत गरेको छ । पार्टी सभापति हिमालदत्त श्रेष्ठले केन्द्रीय सदस्य सतार लगायत नेपाल मुस्लिम संघका पदाधिकारीहरुलाई पार्टी कार्यलयमा स्वागत गर्दै नेपाली काँग्रेस जिल्लाको अवस्थाबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update