Shittalpati
विद्यालयको गुणस्तरीय सुधार अभियानमा वडा कार्यालय

कृष्ण पोखरेल
पाल्पा, रैनादेवी छहरा गाउँपालिका वडा ३ भुवनपोखरी वडा कार्यालयले सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि ५ वर्षे अभियान सुरु गरेको छ । वडा कार्यालयले वडा अध्यक्षको अध्यक्षतामा वडा शिक्षा समिति गठन गरेर विद्यालय शिक्षा सुधार अभियानमा जुटेको हो ।

समितिले वडामा २ वटा माध्यमिक विद्यालय, ६ वटा आधारभुत विद्यालय, २ वटा प्राथमिक विद्यालयको स्थलगत अध्ययन गरी शैक्षिक सुधारमा जुटेको हो । समितिले प्रत्येक विद्यालयमा दुई/दुई महिनामा वडा कार्यालयका जनप्रतिनिधि, पालिकाका पदाधिकारी तथा कर्मचारीको सहभागितामा घुम्ती बैठक सञ्चालन गर्दै आएको छ । घुम्ती बैठकमा विद्यालयमा दुई महिना भित्र भएका गतिविधी तथा प्रगति विवरण आई परेका समस्याहरु विद्यालयका प्रधानाध्यापकहरुले पेश गर्नुपर्ने नियम बनाईएको छ । हाल सम्म रैनादेवी मावि र बाल विनोद आधारभुत विद्यालयमा घुम्ती बैठक समितिले सञ्चालन गरेको छ । बैठकले वडाका १० वटै विद्यालयमा एउटै पोशाक कायम गरेको छ । विद्यालयका शिक्षकहरुले प्रधानाध्यापक संग र प्रधानाध्यापकले शिक्षा समितिका अध्यक्ष एवं वडा अध्यक्षसंग गुणस्तरीय शिक्षाको लागि करारनामा सम्झौता गरेका छन् ।

कक्षा १ देखि ३ सम्मका बालबालिकाहरुलाई भाषिक सीप विकासको लागि सोही कक्षामा अध्यापन गराउने प्रत्येक विद्यालयका २ जना शिक्षकहरुलाई आउँदो वैशाखभित्र वडा शिक्षा समितिले तालिम सञ्चालन गर्ने, बालबालिकाहरुको शरीरलाई स्वस्थ राख्न वडाका सबै विद्यालयमा योग शिक्षक तयार गरी प्रत्येक दिन योग अभ्यास गराउने, प्रत्येक विद्यालयमा शुक्रबारको दिन अनिवार्य अतिरिक्त कृयाकलाप खेलकुद गतिविधी सञ्चालन गर्ने घुम्ती बैठकमा निणर्य भएको समितिका अध्यक्ष एवं वडा अध्यक्ष प्रदिप पौडेलले बताए । करारनामा सम्झौता अनुसार काम गर्ने शिक्षक तथा प्रधानाध्यापकहरुलाई पुरस्कार तथा काम नगर्ने शिक्षकहरुलाई वडाले सोही अनुसार व्यवहार गर्ने वडा अध्यक्ष पौडेलले बताए ।

अहिले गाउँमा गुणस्तरीय शिक्षाको नाममा बसाईसराई बढ्दो रहेको अवस्थालाई रोक्न, गाउँ–गाउँमा गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने अभियान चलाउन यो कार्यक्रम सुरु गरिएको, हेरौं कति काम गर्न सकिन्छ, पक्के पनि यो अभियानबाट शिक्षामा केही न केही सुधार हुने वडा अध्यक्ष पौडेलले बताए ।

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update