Shittalpati
गुल्मीको रेसुङ्गा विमानस्थलमा पुग्यो जहाज, छायो गुल्मेली नागरिकमा खुसीयाली

रामचन्द्र रायमाझी
पाल्पा, गुल्मीको रेसुङ्गा विमानस्थलमा जहाज पुगेको छ । रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको नाइन एन–एएलओ ट्वीनअटर जहाज त्यहाँ पुगेको हो । तारा एयरले नियमित उडानका लागि डेमो उडान गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विहान ११ बजे उडेको जहाज ११ बजेर ४७ मिनेटमा रेसुङ्गा विमानस्थलमा सफल अवतरण गरेको थियो । जहाज त्यहाँ पुगेसँगै गुल्मेली नागरिकमा खुसीयाली छाएको छ । एक दशक अगाडिदेखि यहाँका नागरिकहरूले देखेको जहाज चड्ने सपना बल्ल पुरा भएको छ । निर्माण कार्य थालिएको विमानस्थलमा १६ वर्षपछि नियमित जहाज उडान हुन लागेको हो । विमानस्थलको काम तीव्र रुपमा अगाडि बढ्न नसकेपछि गुल्मेलीहरू केही वर्षयता निराश भएका थिए । यसअघि २०७५ साल जेठ २५ मा पहिलो पटक धुले परीक्षण उडान गरिएको भए पनि पूर्वाधार निर्माणमा ढिलाई हुँदा नियमित उडान हुन सकेको थिएन ।

यस पटक भने पूर्वाधार निर्माणको सम्पूर्ण काम सकिएको र नियमित उडानका लागि डेमोस्ट्रेसन उडान गरेपछि भने गुल्मेलीहरू हर्षित भएका छन् । जहाज हेर्न गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाँचीका सर्वसाधारणहरू समेत विमानस्थल पुगेका थिए । निर्माण थालिएको लामो समयपछि रेसुङ्गा विमानस्थलको परीक्षण उडान सफल भएपछि स्थानीयवासीहरूले एक–अर्कामा खुसी साटासाट गरेका छन् । गुल्मेलीहरूसँग खुसी साट्नका लागि सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्की, नेपाली काँग्रेसका लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेपाली काँग्रेस गुल्मीका सभापति तथा रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थी, काँग्रेसका युवा नेता युवराज कंडेल लगायत तारा एयर र नेपाल नागरिक उड्यन प्राधिकरणका कर्मचारी रेसुङ्गा विमानस्थल पुगेका थिए ।

डेमोस्ट्रेसन उडानका लागि नेपाल नागरिक उडड्यन प्राधिकरण, तारा एयरलाइन्स र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यवसायिक उडानका लागि तारा एयरले परीक्षण उडान गरेको हो । विसं २०६३ सालदेखि निर्माण शुरु गरिएको विमानस्थल १६ वर्षपछि सम्पन्न भएको छ । कुल ३३ करोड लगातमा निर्माण गरिएको विमानस्थलको लम्बाई पाँच सय २० मिटर र चौडाइ २० मिटर छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुन्द्र सतहदेखि १५ सय २६ मिटरको उचाइमा पर्छ । डेमोस्ट्रेसन उडानपछि नियमित उडानका लागि थप प्रक्रिया थालिने यति एयरलाइन्सले जनाएको छ । लामो समयपछि गुल्मीवासीहरुको सपना साकार भएको भन्दै गुल्मी क्षेत्र नं १ का सांसद चन्द्र भण्डारीले आजको अवस्थासम्म ल्याई पुर्‍याउन सहयोग गर्ने सबै राजनीति दल, विभिन्न निकाय र जिल्लावासीलाई धन्यवाद व्यक्त गरेका छन् । उनले आगामी दिनमा नियमित उडानका लागि पनि सबैको सल्लाह एवं सहयोग अपरिहार्य रहेको बताए ।

त्यसैगरी पूर्व सांसद एवं नेकपा एमालेका उपमहासिचव प्रदीप ज्ञवाली, एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीले सुरक्षित हवाई यात्रा समयमै गन्तव्यमा पुग्न, बिरामीलाई लैजान र आकस्मिक सेवाका लागि निकै महत्वपूर्ण हुने बताए । उनीहरुले यसलाई नियमित गराउनेतर्फ सबैले ध्यान दिनुपर्ने बताए । उक्त जहाजलाई तारा एअरका वरिष्ठ चालकद्वय क्याप्टेन सन्तोषकुमार साह र क्याप्टेन सञ्जीव श्रेष्ठले उडाएका थिए । नियमित उडानका लागि भने कम्तिमा २ साता लाग्नेछ । गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा विमानस्थलबाट नियमित उडान भएमा आम गुल्मेलीलाई राहत महशुस हुने छ । छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान र बाग्लुङलाई पनि रेसुङ्गा विमानस्थलले टेवा पु¥याउने विश्वास गरिएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update