Shittalpati
गुल्मीको रेसुङ्गा विमानस्थलमा जहाज सफल अवतरण

गुल्मी, गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमोस्ट्रेसन उडान भएको छ । रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ९ एन–एएलओ ट्वीनअटर जहाजले सफल डेमोस्ट्रेसने उडान गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विहान ११ बजे उडेको जहाज ११ बजेर ४७ मिनेटमा रेसुङ्गा विमानस्थलमा अवतरण भएको थियो ।

डेमोस्ट्रेसन उडानका लागि नेपाल नागरिक उडड्यन प्राधिकरण, तारा एयरलाइन्स र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि तारा एयरले परीक्षण उडान गरेको हो । डेमोस्ट्रेसन उडान हुने भएपछि नगरपालिकाले आज कार्यालयमा बिदा दिएको नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए । डेमोस्ट्रेसन उडानमार्फत् सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य धनेन्द्र बहादुर कार्की लगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी आएका थिए ।

विसं २०६३ सालदेखि निर्माण शुरु गरिएको विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो । कुल ३३ करोड लगातमा निर्माण गरिएको विमानस्थलको लम्बाई पाँच सय २० मिटर र चौडाइ २० मिटर छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुन्द्र सतहदेखि १५ सय २६ मिटरको उचाइमा पर्छ । डेमोस्ट्रेसन उडानपछि नियमित उडानका लागि थप प्रक्रिया थालिने यति एयरलाइन्सले जनाएको छ । लामो समयपछि गुल्मीवासीहरुको सपना साकार भएको भन्दै गुल्मी क्षेत्र नं १ का सांसद चन्द्र भण्डारीले यो आजको अवस्थासम्म ल्याई पु¥याउन सहयोग गर्ने सबै राजनीति दल, विभिन्न निकाय र जिल्लावासीलाई धन्यवाद व्यक्त गरेका छन् । उनले आगामी दिनमा नियमित उडानका लागि पनि सबैको सल्लाह एवं सहयोग अपरिहार्य रहेको बताए । त्यसैगरी पूर्व सांसद एवं नेकपा एमालेका उपमहासिचव प्रदीप ज्ञवालीले सुरक्षीत हवाई यात्रा समयमै गन्तव्यमा पुग्न, बिरामीलाई लैजान र आकस्मिक सेवाका लागि निकै महत्वपूर्ण हुने बताए । उनले यसलाई नियमित गराउनेतर्फ सबैले ध्यान दिनुपर्ने भन्दै आफू परराष्ट्रमन्त्री हुँदा शिलन्यास गरेको बिमानस्थलमा ढिलै भएपनि उडान शुरु हुन लागेकोमा खुसि व्यक्त गरे । रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ साल जेठ २५ मा धुले परीक्षण उडान गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update