Shittalpati
हराउँदै खिरको मौलिक स्वाद

रामचन्द्र रायमाझी
पाल्पा, हरेक वर्ष साउन १५ लाई खिर खाने पर्वको रुपमा लिइन्छ । आज पनि साउन १५, घर–घरमा खिर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ ।

वर्षभरि कहिले जौको सातु, सर्वत त कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खिर पकाई आपसमा बाँडेर खाने चलन छ । यसको साँस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खिर खाने परम्परा विकास भएको संस्कृतिविद्हरु बताउँछन् । साउन महिना वर्षात् समय भएकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दुधबाट बनेको पोषिलो खिर खाने गरिन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि यो खाने प्रचलन रहेको पुराना पुस्ताका व्यक्तिहरुको भनाई छ ।

साउन १५ मा खिर खाने चलन पुरानै रहेको गुल्मी इस्माका ९५ वर्षीय देबबहादुर पाण्डे बताउँछन् । उनी भन्छन् ‘साउनमा हरियो, परियो धेरै पाइने हुनाले गाई, भैसीले दुध बढी दिने हुँदा यो समयमा खिर खाने गरिएको हो ।’ असार महिनामा रोपाँइ सकेपछि साउन १५ कृषकहरूले खिर खाएर दिवस मनाउने गर्छन् । यस प्रकारको खानेकुरा खानाले स्वास्थ्यमा लाभ हुने विश्वास छ । असारभरी पानी हिलोमा खेल्दा सर्दी लाग्ने र तातो र पोषिलो खिर खाँदा सर्दिबाट जोगीने विश्वास छ । तर पछिल्लो समय गाउँघरमा गाई, भैँसी पाल्ने चलन कम हुँदै गएपछि पोषिलो खिरको मौलिक स्वाद भने हराउँदै गएको छ । विगतका समय प्रत्येक घरमा गाई भैँसी पालेर दूध, दही, मोही, नौनी खाने चलन अहिले हराउँदै गएको हो । वर्षको एकदिनमात्र परम्परा धान्ने र अरुलाई देखाउनकै लागि भए पनि डेरीको दूधमा खिर बनाएर खाने चलन अहिले बढेको छ । डेरीको दूधबाट बनाइएको खिरको मौलिक स्वाद अहिले हराउदै गएको तानसेन भगवती टोलका ७५ वर्षीय देवेन्द्र बहादुर रायमाझीले बताए । ‘गाउँमा गाईभैँसी पाल्न छोडिसके, बजारबाट दूध ल्याएर कुकरमा सिठ्ठी लगाएर बनाइएको खिरमा पहिलाको जस्तो स्वाद कहाँ पाउँनु रायमाझीले भने ‘दूध, दही र मोहीको ठाउँ कोक, डिउ र फ्यान्टाले लिए । हिजोआजका केटाकेटीलाई खिर कस्तो हुन्छ र के बाट बन्छ भन्ने कुरा पनि थाहै छैन ।’ आइतबार परेको साउन १५ मा घरपरिवारका सदस्य भेला भई खिर खाने योजना बनाइएको तानसेन कैलाशनगरमा बस्दै आएका दिपक अधिकारीले बताए । उनले भने ‘मलाई यो चलन मन पर्छ, विगतमा म एक्लै थिए, यसपटक आमा, बुवा बहिनी सबै एकै ठाउँमा जम्मा भएर खिर खाँदैछौँ ।’

गुल्मीबाट रोजगारको सिलशिलामा तानसेन बस्दै आएका प्रदिप आचार्यले भने अघिल्लो दिन दिउँसै दूध किनेर फ्रिजमा हालेर राखी सकेका छन् । ‘खिर खानुभन्दा पनि खिर खाँदा हुने छुट्टै रमाइलो मलाइ मन पर्छ गाउँ घरको रमाइलो याद आउँछ’ उनले भने । खीर खाने चलन रामो भएपनी पछिल्लो समय भने विकृतिका रुपमा देखा परेको उनको गुनासो छ । खिर खाने निहुँमा मदिरा सेवन गरी होहल्ला गर्ने चलन गलत भएको आचार्यले बताए ।

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update