Shittalpati
प्रशिक्षक बस्यालको कृति ‘घरदेखि परसम्म’ विमोचन

पाल्पा, शिक्षा तालिम केन्द्र, पाल्पाका प्रशिक्षक गोपालप्रसाद बस्यालको ‘घरदेखि परसम्म’ कृति विमोचन भएको छ । बस्यालको एक कार्यक्रमका बिच यात्रा संस्मरणात्मक निबन्ध कृति ‘घरदेखि परसम्म’ विमोचन भएको हो ।
तानसेनमा भएको तालिम कार्य शालामा सहभागी शिक्षकहरुले संयुक्त रुपमा उनको कृति विमोचन गरेका हुन् । प्रशिक्षक एवं कृतिकार बस्यालको जन्मभूमि दैलातुङ पाल्पाको ऐतिहासिक र वर्तमान अवस्था प्रतिको समीक्षात्मक आलेखबाट शुरू यस कृतिमा उनका स्वदेश तथा विदेशका विभिन्न यात्रा अनुभवहरूलाई सरल तरिकाले प्रस्तुत गरिएको छ । समीक्षक एवं नियात्रा विधाका अन्वेषक प्रमोद प्रधानका अनुसार बस्यालका यात्रा निबन्धहरू शिक्षा सम्बन्धित विषयवस्तु प्रवल रूपमा उल्लेख भएता पनि समालोचकीय चेतबाट प्रभावित छन् । विविध विषयवस्तुलाई प्रासंगिक तरिकाले प्रस्तुत गर्नु लेखक बस्यालको लेखन कौशल भएको समीक्षक डा. शंकर गैरेको ठम्याई छ । उनले यस कृतिलाई शिक्षा र साहित्य दुबैै विधाबाट अब्बल रहेको बताए ।
लामो समयसम्म शिक्षक र प्रशिक्षकको अनुभव भएका लेखक बस्यालले यही क्रममा नेपालका विभिन्न भाग, संयुक्त राज्य अमेरिका, भारत, श्रीलंका र बंगलादेशमा बटुलेका अनुभवलाई यस कृतिमा समेटिएका १२ वटै निबन्धका मुख्य विषयवस्तु भएता पनि यी निवन्धमा पर्यटन, मानवीय कार्य, प्रकृति सौन्दर्य, विकास निर्माण, जनजीवन लगायतका विषयमा समालोचनात्मक दृष्टिकोण राखेर कृति तयार पारेका छन् । आफुले शिक्षा विकासमा जीवन समर्पण गरेको र प्रशिक्षण कार्यमा खटिरहेको सन्दर्भमा प्रशिक्षण कार्यक्रममा सहभागी शिक्षकहरूबाट कृति सार्वजनिक गर्न पाउँदा अपनत्व र आत्म गौरव बढेको लेखक बस्यालको भनाई छ । उनले यसबाट कृतिको अध्ययन गरी विषयवस्तुको ज्ञान प्राप्तीको अलवा यस प्रकारका सिर्जनात्मक कार्य गर्न शिक्षकहरूलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । कुनै औपचारिक कार्यक्रमविना तालिम सत्रको समाप्तीमा प्रशिक्षक बस्यालले सबै शिक्षकहरुलाई कृति दिएका थिए । तालिममा सहभागी दमकडा माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन सापकोटाले कृति अत्यन्त पठनीय र मननीय रहेको बताए ।

प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update