Shittalpati
महिनाभर मनाउने गुँला पर्व आज सकिदै

पाल्पा, नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूले महिनाभर मनाउने गुँला पर्वको आज समापन हुँदै छ । श्रद्धा र भक्तिपूर्वक मनाउँदै आएको गुँला पर्व विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिसहित समापन हुन लागेको  भएको हो । प्रत्येक वर्षको श्रावण शुक्ल प्रतिपदाबाट यो पर्व प्रारम्भ भई भाद्र शुल्क प्रतिपदाका दिन समाप्त हुन्छ । एक महिनासम्म धार्मिक स्थानमा बाजागाजासहित घुम्ने र पूजापाठ गर्ने चलन रहिआएको छ । गुँला समाप्तिका दिन हर्ष उमङ्का साथ भोज खाने चलन छ ।

यस भोजलाई पारु भोज पनि भनिन्छ । ‘गुँला’ भन्नाले गुरुले वाचन गरेको बुद्धको ज्ञान पालन गरी धर्म गर्न र बुद्धधर्मको शील पालन गरी शीलमा बसिरहनु हो । नेवारी भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ हो भने ‘ला’ को अर्थ ‘महिना’ भएकाले नेपाल संवत्को नवौँ महिनाको तिथिमा यो पर्व मनाउने गरिन्छ । गुँला कहिलेबाट सुरु भएको भन्ने यकिन नभए पनि भाषा वंशावलीअनुसार राजा विक्रमदेवले बौद्ध अनुयायीका लागि यो पर्व चलाएका थिए भन्ने उल्लेख छ । किंवदन्तीअनुसार मञ्जुश्रीले तालका रूपमा रहेको उपत्यकाको पानी बगाएपछि यहाँ बस्ती सुरु भएको हो । उनैबाट चैत्यसेवाको पनि प्रारम्भ भएको थियो र पछि यसले नै गुँलापर्वको रूपमा लिएको भनाइ रहेको पाइन्छ । पर्व भरी हरेक दिन बिहान बाजागाजाका साथ बौद्ध धर्मावलम्बी विशेष गरी शाक्य, बज्राचार्य, मानन्धर, कंसाकार र महर्जन समुदायका व्यक्तिहरु घुम्ने गर्दछन् । गुँलामा शृङ्गभेरी अर्थात् सिङ बाजा फुकाउने चलन राजा सिद्धिनरसिंह मल्लले सुरुवात गरेको परम्परा मानिन्छ ।

शृङ्गभेरी कथाअनुसार मृतकको नाममा स्वयम्भू महाचैत्यमा शृङ्ग बाजा बजाई परिक्रमा गर्ने र पूजा गर्ने चलन छ । भगवान् बुद्धको जन्मस्थल लुम्बिनी कपिलवस्तुमा गुँला बाजा बजाउने चलन थियो । जुन गुँला बाजाको ताल सिद्धार्थ राजकुमारलाई निकै मन पर्दथ्यो भन्ने भनाइ छ । पछि शाक्य गणराज्यको पतन भएपछि शाक्य र कोलियाहरू काठमाडौँ उपत्यकामा आई बसोबास गरेपछि यहाँ पनि बहाबहीमा यही गुँला बाजा बजाउने परम्परा रह्यो । जुन चलन यद्यपि छँदैछ । गुँला पाल्पा, काठमाडौँका लगायतका नेवाः बस्तीहरुमा मनाउँदै आइरहेका छन् ।  गुँला पर्वमा धाः, न्यकू र बाँसुरीलगायत परम्परागत बाजा बजाउँदै चैत्य तथा विहारको परिक्रमा गर्ने प्रचलन रहेको छ । यस पर्वले नेवार समुदायको धार्मिक आस्था, मौलिक संस्कृति र परम्परागत संगीतको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । पर्व समापनका अवसरमा सहभागीहरूले आपसी सद्भाव, शान्ति र सुख–समृद्धिको कामना गरेका छन् । आयोजकहरूले गुँला पर्वले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update