Shittalpati
नेवार, किराँत समुदायले योमरी पुन्ही र उधौली पर्व मनाए

पाल्पा । नेवार र किराँत समुदायले बुधबार योमरी पुन्ही र उधौली पर्व आ–आफ्ना रीतिरिवाज र संस्कृतिअनुसार मनाएका छन् । कोरोनाको कारण विशेष सुरक्षा सावधानी अपनाएर उनीहरुले चाडपर्व मनाएका हुन् । नयाँ धान भित्र्एको खुशीयालीमा नेवार समुदायले योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाएका छन् । योमरी पूर्णिमालाई योमरी पुन्ही पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । नुहाइधुवाइ र घरमा लिपपोत गरी योमरी पकाउने चलन छ । पाल्पामा पनि नेवार समुदायले यो पर्व मनाएका छन् ।

जिल्लामा असनटोल विकास संस्था तानसेनले योमरी पुन्हीलाई निरन्तरता दिन योमरी महोत्सव नै आयोजना गरेको थियो । संस्थाले तानसेनको शित्तलपाटीमा तीन दिनसम्म महोत्सव आयोजना गरी बुधबार समाप्त गरेको छ । कतिपय समुदायले भने यस दिन कूल परम्पराअनुसार दिवाली वा कूलदेवताको पूजा आराधना गरी धान्यपूर्णिमा पर्व पनि मनाउँछन् । यस्तै किराँत समुदायले पनि आफ्नो संस्कृति अनुसार उधौली पर्व मनाएका छन् । मंसिर शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वमा किरात समुदायले प्रकृतिको पूजा गर्ने गर्दछन् । आफ्नाले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने चलन किरात समुदायमा रहेको छ । तीन दिनअघि सुरु भएको पर्वको पहिलो दिन लिम्बुहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने बुधबार संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किराँत पर्व मनाएका छन् ।

प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update