Shittalpati
लाटोसाथीको सम्झना गर्दै श्रद्धाञ्जली

पाल्पा । साहित्यकार प्रा.डा. विष्णुराज आत्रेय लाटोसाथीको सम्झना गर्दै श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । पाल्पा साहित्य समाज र पाल्पाली संगम काठमाडौँद्वारा भर्चुअलमार्फत लाटोसाथीको सम्झना गर्दै १३ औँ दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा गरिएको हो । सभामा प्रा.डा बेणिमाधव ढकालले ३५ वर्षसम्म लाटोसाथीसँग सँगै प्राध्यापन गरेको सम्झना गर्दै उनको व्यक्तित्व, कृति र योगदान माथि चर्चा गरेका थिए । साहित्यकार गोपी कृष्ण शर्माले लाटो साथीको योगदान नेपाली साहित्यिक क्षेत्रमा अमर रहेको बताए । श्रद्धाञ्जलीसभामा पाल्पा साहित्य समाजका अध्यक्ष साहित्यकार पुष्कर अथक रेग्मीले स्वर्गीय लाटो साथीको कृतिहरु विशेष व्यक्तित्वहरुद्वारा लेखिएका लेखहरु, महत्वपूर्ण तस्विरहरु विभिन्न व्यक्तित्वहरुद्वारा सामाजिक सञ्जालमा दिइएका श्रद्धाञ्जलीहरुलाई डकुमेन्ट्रीको रुपमा प्रस्तुत गरेका थिए ।

सभामा धवल पुस्तकालय पाल्पाका अध्यक्ष युवराज पौड्याल, लुम्बिनी वाङ्मय प्रतिष्ठानका संस्थापक सचिव राजेन्द्र आचार्य, समिक्षक शान्ता शाक्य, लाटोसाथीका सम्धी समाजसेवी भेषराज नेपाल, सुपुत्र डा.आलोक आत्रेय, सुपुत्री विदुषी डा.अलका आत्रेय लगायतले श्रद्धाञ्जलीका शब्दहरु समर्पण गरेका थिए । सभामा साहित्यकार, शुभचिन्तक, परिवारजनका सदस्य गरी ३३ जनाको सहभागिता रहेको थियो । वि.सं. १९९९ चैत्र ८ गते कपिलवस्तुमा जन्मिएका लाटोसाथीको निधन यही साउन २ गते काठमाडौँमा भएको हो । लाटोसाथीका तीन दर्जन भन्दा बढी कृतिहरु प्रकाशित भएका छन् । श्रद्धाञ्जली सभा पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोेपाल सिंहको अध्यक्षता र पाल्पाली संगम साहित्य विभाग काठमाडौँका प्रमुख सीता विष्ट कार्कीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update