Shittalpati
रौनक छैन बोलबम धाममा

खस्यौली । रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहा परमेश्वर ज्योर्तिलिङ्ग बोलबम धाममा अहिले कुनै रौनक छैन । कोरोना संक्रमणको प्रभावका कारण बोलबम धाममा हुने अधिकांश नियमित कार्यक्रम नभएका कारण भक्तजन मन्दिरमा पूजाआजा गर्नमा मात्रै सीमित भएको बोलबम व्यवस्थापन समितिले जनाएको छ । ‘यस वर्ष जलयात्रा र जर्लापणका कार्यक्रम रद्द भएका छन्’ पर्रोहा परमेश्वर ज्योर्तिलिङ बोलबम धामका अध्यक्ष रामवली चौधरीले भने । विगतका वर्षमा धाममा जर्लापण र जलयात्राका लागि बाजागाजासहित भजनकीर्तन गरेर नवलपारसीको त्रिवेणी, कपिलवस्तुको लक्ष्मणपुरबाट कमण्डलुमा जल ल्याई शिवलिङ्गमा चढाइने गरिन्थ्यो । भक्तजनले जल ल्याउनका लागि पहेलो बस्त्र धारण गरेर खाली खुट्टा पैदलयात्रा गर्थे ।

अध्यक्ष चौधरीले धाममा प्रवेश गर्दा केहीले मास्कको प्रयोग गरे पनि अधिकांशले मास्कको प्रयोग नगरेको उल्लेख गर्दै भारतबाट आउने भक्तजन नआएको बताए । मन्दिरभित्र प्रवेश गर्न थर्मलगनको प्रयोगबाट तापक्रम मापन गर्ने व्यवस्था गरिएको छ । सो ज्योर्तिलिङ्ग धाममा शिव पाञ्चायन, गणेश पार्वती मन्दिर, लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण मन्दिर, सन्तोषीमाताको मन्दिर, चन्द्रमा आकारको सरोवर, १ सय ८ शिवलिङ्ग, पाँच/पाँच फिटको शिवमूर्ति र नागकुण्ड छन् । बोलबम धामका पूजारी चन्द्र नेपालले साउन महिना भगवान शिवजीको प्रिय महिना भएकाले पूजाआजा, आरधना र भजनकीर्तन गर्नाले संकटमोचन हुने र मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको बताए । उनले मन्दिरमा अन्य रौनक नभए पनि भगवान शिवजीको रुद्राभिषेक गर्ने कार्य भइरहेको जानकारी दिँदै शास्त्रीय प्रमाणका लागि यसको अध्ययन तथा अनुसन्धान भइरहेको बताए । यस वर्ष रुपन्देही आसपासबाहेक अन्य जिल्लाबाट भक्तजन धाममा आएका छैनन् । -रासस

प्रकाशित मिति: सोमबार, साउन १२, २०७७  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update