Shittalpati
रानीमहलबाट आम्दानी गर्दै तानसेन नगर सरकार

कृष्ण पोखरेल
पाल्पा, अधिकांस स्थानीय सरकारले आन्तरिक स्रोत पहिचान गर्न सकेका छैन । स्थानीय स्तरमा थुप्रै आम्दानीका स्रोतहरु भए पनि स्थानीय सरकार तिनको उपयोग गर्नमा चुकेका छन् । आन्तरिक स्रोत पहिचान गर्न नसक्दा अधिकांस स्थानीय सरकारहरु प्रदेश र संघीय सरकारको बजेटमै निर्भर बनिरहेका बेला पाल्पाको तानसेन नगर सरकारले भने ऐतिहासिक पर्यटकीय क्षेत्र रानीमहलबाट आम्दानी गर्न थालेको छ ।

प्रेमको प्रतिकका रुपमा रहेको रानीमहलमा पर्यटक शुल्कमार्फत नगर सरकारले आम्दानी गर्न थालेको हो । ५ महिनाको अवधिमा नगर सरकारले रानीमहल दरबारमा पर्यटक शूल्कबाट मात्र १७ लाख २६ हजार ५ सय २० रुपैयाँ आम्दानी गरेको छ । उसले माघ महिनामा मात्र १ लाख ७७ हजार ७ सय २०, फागुन महिनामा ३ लाख ६२ हजार ५ सय, चैत्र महिनामा ३ लाख २८ हजार ५ सय, बैशाख महिनामा ४ लाख ७६ हजार ३ सय र जेठ महिनामा ३ लाख ८१ हजार ५ सय आम्दानी गर्न सफल भएको नगरपालिका राजश्व शाखा प्रमुख मधुसुदन घर्तिले बताए । कोरोना सक्रमणको कारण दुई वर्षसम्म बन्द अवस्थामा रहेको रानीमहलमा नगरपालिकाले पर्यटकलाई चाहिने आवश्यक पूर्वाधार निर्माणसँगै २०७८ माघ १ गतेदेखी पुनः सञ्चालनमा ल्याएको थियो । रानीमहल दरबारलाई पुरातत्व विभागले १० वर्षसम्मका लागि रेखदेख तथा संरक्षणको जिम्मा तानसेन नगरपालिकालाई दिएको थियो । नगर सरकारले पर्यटकका लागि रानीमहल दरबार अवलोकनको लागि विहान ८ बजेदेखी ५ बजेसम्म खुला गर्ने व्यवस्था मिलाएको छ । उसले आवश्यकता अनुसार रातीमा समेत उक्त दरबार अवलोकनका लागि व्यबस्था गरेको छ । कोभिडको कारण कुरुप अवस्थामा पुगेको रानीमहल दरबार नगर सरकारकोे वातावरण तथा सरसफाई शाखाका प्रमुख शंकर भण्डारीको संयोजकत्वमा सरसफाई देखी पर्यटकीय पूर्वाधार निर्माण गरी माघ १ गते देखी औपचारिक रुपमा सबैका लागि खुला गरेको थियो । कुरुप बनेको रानीमहल अहिले हेर्ने लायक बनेको छ ।

जंगली अवस्थामा पुगेको रानीमहल पूर्ण रुपमा सरसफाई गरी हेर्न लायक भएको हो । रानीमहल दरबारमा तानसेन नगरपालिकाका कर्मचारीबाट दैनिक रुपमा नियमित सरसफाई हुँदै आएको छ । रानीमहलमा पुग्ने महिला, पुरुषहरुका लागि छुट्टै शौचालय, निःशुल्क वाईफाई, युरोगार्डको पिउने पानी, पानीका फोहोरा, फुल बगैचा सहित आवश्यक पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । नगरपालिकाले रानीमहल दरवार भित्र, राणा खड्ग शमशेर, रानी तेजकुमारीको आकर्षक तस्विर सहित फोटो खिच्ने व्यवस्था, त्यति बेला प्रयोगमा ल्याएका सरसमान सहितको संग्रहालय सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत पिताम्वर पाण्डेले बताए । रानीमहल दरबारमा तानसेन नगरपालिकाले नियमित रुममा ३ जना कर्मचारीहरु खटाउँदै आएको छ । नियमित सरसफाईदेखी, पर्यटकहरुको लागि टिकट व्यवस्थापन, हेरालु तथा मालीको रुपमा नगरपालिकाका कर्मचारीहरु खटिदै आएका छन् । रानीमहलको स्तरउन्नती भएपछी दरबार अवलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरु बढेका छन् । रानीमहलमा पर्यटकको संख्या वृद्धिसँगै होटल, रेष्टुराहरुको संख्या समेत बढेको छ । तानसेनदेखी रानीमहल पुग्दा बाटो–बाटोमा नयाँ –नयाँ होटल रेष्टुराहरु सञ्चालनमा छन् । रानीमहल दरबारलाई अझै सुन्दर आर्कषक बनाउन आगामी वर्षमा रंगरोगन गर्ने, अन्य किसिमका पर्यटकीय पूर्वाधारहरु थप गर्ने तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । रानीमहलसँगै श्रीनगर क्षेत्रलाई पनि व्यस्थित रुपमा आगामी वर्षदेखी सञ्चालन गर्ने तयारीमा जुटेको नगर प्रमुख श्रेष्ठले बताए । रानीमहल नेपालकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको छ । यो दरबार राण खड्ग शमसेरले रानी तेज कुमारीको संम्झनामा वि.सं १९५४ निर्माण गरेका थिए ।

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update