Shittalpati
दोहोरो करको बोझ कम गर्न स्थानीय तह र सरोकारवाला निकायबिच समन्वय गर्नुपर्नेमा जोड 

पाल्पा, दोहोरो करको बोझ कम गर्न स्थानीय तह र सरोकारवाला निकायबिच समन्वय गर्नुपर्नेमा जोड दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजनामा सोमबार तानसेनमा आयोजना गरिएको उद्योग तथा वाणिज्य व्यवसाय दर्ता÷नविकरण सम्बन्धी स्थानीय तह र सरोकारवाला निकायसँगको अन्तक्र्रिया कार्यक्रमका सहभागीहरुले दोहोरो करको बोझ कम गर्नुपर्नेमा जोड दिएका हुन् ।

दोहोरो करका कारण सेवाग्राहीहरु मारमा पर्ने गरेको भन्दै उनीहरुले त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिए । उद्योगी तथा व्यवसायीहरुले स्थानीय तह, घरेलु कार्यालय र करदाता सेवा कार्यालयमा  फर्म दर्ता र नविकरण गर्नुपर्दा दोहोरो मारमा पर्नु  परेकाले त्यसलाई एकै ठाउँबाट गर्ने व्यवस्था मिलाउन तीनै तहका सरकारबिच समन्वय हुन आवश्यक रहेको सहभागीहरुले औल्याए । कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, निस्दी गाउँपालिकाकी उपाध्यक्ष तिरनकुमारी श्रेष्ठ, तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरी, नगरपालिकाका आर्थिक शाखा प्रमुख मुधुसुधन घर्ती, बगनासकाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत यादव न्यौपाने, माथागढी गाउँपालिकाका कमल ढकाल, रम्भा  गाउँपालिकाकी प्रशासन शाखा प्रमुख विमला गैरे लगायतले कानुनी अड्चनका कारण उद्योगी व्यवसायीहरु करको दोहोरो  मारमा परेकाले त्यसतर्फ प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने बताए । उनीहरुले संविधानले व्यवस्था गरेबमोजिम आफुहरुले कर उठाउने गरे पनि प्रदेश र संघीय सरकारका कारण व्यवसायीहरु समस्यामा परेको उल्लेख गरे । व्यवसायीले दुई ÷तीन ठाउँबाट कर तिर्नुपर्ने व्यवस्थाको अन्त्य गर्न जरुरी रहेको उनीहरुको भनाई छ । उद्योगी,व्यवसायीहरुमा करको ज्ञानको अभाव भएकाले  घरेलु कार्यलय कर सेवा कार्यालयले स्थानीय तहमा पुगेर कर शिक्षा दिनुपर्ने र त्यसका लागि आवश्यक सहजीकरण गर्न स्थानीय सरकार तयार रहेको उनीहरुले बताए । कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष विष्णुबहादुर कार्कीले दोहोरो करका कारण व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था आएकाले त्यसतर्फ तिनै तहका सरकारले ध्यान दिनुपर्ने बताए ।

प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले उद्योगी व्यवसायीहरुलाई सहजीकरण गर्ने दिशामा तीनै तहका सरकार लाग्नुपर्नेमा जोड दिए । उनीहरुले छलफलबाट आएका विषयहरुलाई जिम्मेवारपूर्वक कार्यान्वयन गर्न आग्रह गरे । घरेलु कार्यालयका वरिष्ठ उद्योग अधिकृत केशव सुनारले तीनै तहका सरकारबिच फर्म दर्तामा देखिएको दोहोरोपना हटाउनु, दर्ता नविकरणमा एकरुपता ल्याउनु, घरेलु कार्यालय र स्थानीय तहबिच दर्ता र नविकरणमा देखिएका अन्यौलता र असमझदारीहरु समाधान गर्न, जिल्लामा रहेका उद्योग तथा वाणिज्य फर्महरुको यथार्थ तथ्याङ्क राख्न, लगानीमैत्री वातावरण सिर्जना गर्न अन्तक्र्रिया कार्यक्रम महत्वपूर्ण हुनेमा विश्वास व्यक्त गरे । कार्यक्रममा वरिष्ठ अधिकृत सुनार  र करदाता सेवा कार्यालयकी निमित्त कार्यालय प्रमुख योगमाया न्यौपानेले आ–आफ्ना कार्यालयका कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम घरेलु कार्यालयका वष्ठि उद्योग अधिकृत केशव सुनारको अध्यक्षता, नायव सुब्बा कल्पना पौड्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।   
 

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update