स्थानीय

रेसुङ्गाले माग्यो नीति तथा कार्यक्रमलाई सुझाव

Shittalpati Reporter

गुल्मी, जिल्लाको रेसुङ्गा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेटका विषयमा बृहत्तर रुपमा आम भेलाको आयोजना गरी सुझाव संकलन गरेको छ । सुझाव संकलनमा नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, निवर्तमान नगरप्रमुख तथा स्थानीय तहको निर्वाचनका प्रत्यासी उम्मेदवार, राजनैतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी, समाजसेवी, नागरिक समाज, पत्रकार लगायतको सहभागितामा सुझाव संकलन गरिएको हो । रेसुंगा नगरपालिकाले असार १० गते आर्थिक वर्ष ०७९/८० का लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दैछ । सोही सन्दर्भमा सुझाव संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । यसपटक रेसुंगा नगरपालिकाले छुवाछुतमुक्त नगरपालिका घोषणा गर्नेदेखि स्याटलाइट बस्तीको विकास गर्ने सम्मका महत्वकांक्षी नीति तथा कार्यक्रम ल्याउँदैछ । नगरप्रमुखका प्रत्यासी उम्मेदवार ई.राजेन्द्रप्रसाद पाण्डेले नगरपालिकाले मिहिन ढंगले नीति कार्यक्रम ल्याउन लागेको भन्दै जनताका साना आवश्यकताहरुलाई पनि समावेश गरेर जान सुझाव दिए । मुख्यतयाः बजार क्षेत्रमा रहेका अव्यवस्थित तार, सडक बत्ती जस्ता कुराहरुलाई व्यवस्थित गरेर सुन्दर नगरपालिका निर्माणमा ध्यान पुर्याउन उनले नगर सरकारलाई आग्रह गरे । समाजसेवी तथा व्यवसायी राजेन्द्रप्रसाद श्रेष्ठले अहिले सम्पूर्ण आर्थिक कारोबार बैकिङ प्रणालीद्वारा हुने भएकाले नगरले वित्तिय साक्षरता कार्यक्रमलाई जोड दिन आवश्यक रहेको बताए । ‘यहाँका ९८ प्रतिशतले आर्थिक कारोबार बैकिङ प्रणालीद्वारा गर्छन् । तर आवश्यक जानकारीको अभावमा यसको दुरुपयोग समेत हुने गरेको तथ्याङ भेटिन्छ,’ उनले भने, ‘पछिल्लो समय डिजिटल बैकिङ कारोबार गर्दा सानो त्रुटिले पनि ठूलो समस्या पुर्याउने भएकाले वित्तिय शिक्षा अहिलेको आवश्यकता रहेको छ ।’

निवर्तमान वडाअध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले नसर्ने रोगका बिरामीको संख्या बढ्दै गइरहेकाले यसप्रति पनि बिशेष कार्यक्रम ल्याउन आवश्यक रहेको बताए । उनले बजार क्षेत्रमा पनि कौसी खेतिको अवधारणालाई निरन्तरता दिन सुझाव दिए । उनले उचित मर्मत सम्भारको अभावमा एकपटक निर्माण गरिएका भौतिक पूर्वाधारहरुमा पटक–पटक बजेट खर्चिनुपरेको बताउँदै यसतर्फ पनि बिशेष ध्यान दिन सुझाव दिए । कृषक झकबहादुर विकले उत्पादन लागत अनुसारको बजार मूल्य समेत कृषकहरुले नपाएको बताउँदै किसानको उद्धार गर्ने गरिी नीति कार्यक्रम ल्याउन सुझाव दिए ।

निवर्तमान कार्यपालिका सदस्य तथा कृषक सावित्रा भण्डारीले नगरपालिकाले आफ्नै कृषि प्राविधिक राख्न आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘कुर्सीमा बसेर कलम चलाउनेलाई कृषकको पीडा थाहा हुँदैन् । नगरपालिका आफैले पशुचिकित्सक राख्न जरुरी छ ।’ गैसस महासंघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले गरिब, दलित र पिछडिएका वर्गको आय–आर्जन बढाउने गरि नीति कार्यक्रम ल्याउन सुझाव दिए । कार्यपालिका सदस्य यम बहादुर विश्वकर्माले नगरपालिकालाई छुवाछूत मुक्त घोषणा गर्ने नीति ल्याउन लागेको भन्दै यसको कार्यान्वयन गर्न सुझाव दिए । पत्रकार जनार्दन घिमिरेले जिल्लामा सञ्चालित सञ्चार माध्यमहरु बेला–बेलामा चट्याङ लगायतका समस्याबाट गुज्रिनु परिरहेको उल्लेख गर्दै यन्त्र उपकरण खरिद तथा मर्मतका लागि अनुदानको व्यवस्था गर्न सुझाव दिए । नेकपा एमाले रेसुंगा नगर कमिटि अध्यक्ष हरिप्रसाद पोखरेल, नेपाली काँग्रेस रेसुंगा नगर सभापति जयश्वर पन्थी, राप्रपाका अनिल कक्षपतिले विकासका योजनाहरुलाई दिर्घकालिन रुपमा प्रयोगमा आउने गरी विकासका कार्यहरु सञ्चालन आग्रह गरे । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज काउछाले जिल्लामा खेल मैदानको आवश्यक रहेको उल्लेख गर्दै यसको व्यवस्थापनतर्फ ध्यान पुर्याउन आग्रह गरे । निवर्तमान नगरप्रमुख डिल्लीराज भुसालले आफ्नो पालामा सञ्चालन गरिएका योजनाहरुलाई पूर्णता दिएमात्र पनि नगरपालिका समृद्ध हुने बताए । नगरप्रमुख खिलध्वज पन्थीले सहभागिहरुबाट आएका सुझावहरुलाई ग्रहण गरि अगाडी बढ्ने बताए । आफुहरु सुशासनको बाटोमा हिड्ने बताउँदै आफुहरु आवधिक योजना बनाएर अघि बढेको उनले उल्लेख गरे । उपप्रमुख अमृतादेवी कुँवरको अध्यक्षतामा कार्यक्रम भएको थियो ।


प्रकाशित मिति: बुधवार, असार ८, २०७९, १०:०९:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

पाल्पामा छ हजार बढी मतदाता थपिए बुधवार, असार ८, २०७९, १०:०९:००
तानसेनमा बाघ जात्रा देखाइयो बुधवार, असार ८, २०७९, १०:०९:००