Shittalpati
बगनासकालीका सबै वडाहरुमा खोप केन्द्र

पाल्पा,जिल्लाको बगनासकाली गाउँपालिकाका सबै वडाका खोप केन्द्र सञ्चालन गरिएको छ । यहि जेठ २५ र २६ गते सञ्चालन हुने कोरोना विरुद्धको खोपका लागि बगनासकालीले ९ वटै वडाहरुमा खोप केन्द्र सञ्चालन गरेको हो ।

यहाँ खोप एकसाथ सञ्चालन हुने छ । यस अघि केही वडाहरुमा मात्र खोप केन्द्र सञ्चालन गर्ने भनिए पनि नागरिकहरुको भावनालाई आत्मसाथ गर्दै ९ वटै वडाहरुमा खोपकेन्द्र सञ्चालन गर्ने भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालका अनुसार स्वास्थ्य कार्यालयको व्यवस्थापनमा केही वडाहरुमा मात्र खोप केन्द्र सञ्चालन गर्ने भनिए पनि बगनासकालीले आफ्नै व्यवस्थापनमा सबै वडाहरुमा खोप केन्द्र सञ्चालन गर्ने छ । ‘हामीले स्वास्थ्य कार्यालयलाई भनेका छौं, नागरिकहरुलाई टाढा टाढा जान दुःख हुन्छ, स्वास्थ्यकर्मी र अन्य खर्च व्यवस्थापन हामीले गछौं, सबै वडाहरुबाटै खोप केन्द्र सञ्चालन गर्नुपर्छ ।’ अध्यक्ष बस्यालले भने,‘स्वास्थ्य कार्यालयले अनुमती दिएको छ, बगनासकालीका ९ वटै वडाहरुका स्वास्थ्यचौकीहरुमा खोप केन्द्र चल्छ ।’

केन्द्र सरकारले व्यवस्थापन गरेको कोरोना विरुद्धको खोप यहि जेठ २५ र २६ गते ६२ देखी ६४ वर्ष उमेरसमूहकालाई लगाइदैछ । बगनासकाली गाउपालिकामा ७ सय ६४ जनालाई कोरोना विरुद्धको खोप लगाउने तयारी भएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update