Shittalpati
भूकम्पको पाँच वर्ष, गुल्मीका एक सय २४ विद्यालय पुनर्निर्माण

रमेश विश्वकर्मा
गुल्मी । पाँच वर्षअघि (वैशाख ०७२) गएको भूकम्पले जिल्लामा भत्केका ३ सय १२ मध्ये १ सय २४ वटा विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । यस्तै, ६२ वटा विद्यालय निर्माणाधीन अवस्थामा छन् भने एक सय २६ विद्यालय निर्माणका लागि छनोट मात्रै भएका छन् । भूकम्पबाट ३ सय १२ विद्यालयका एक हजार २ सय ५२ कक्षाकोठा भत्किएर क्षतिग्रस्त भएका थिए । भूकम्पको पाँच वर्ष बितिसक्दा जिल्लाका एक सय २४ विद्यालयका २ सय ७४ कक्षाकोठाको मात्र पुनर्निर्माणको कार्य सकिएको हो । पुनर्निमाण भएका सबै विद्यालयहरुको निर्माण कार्य विद्यालय व्यवस्थापन समिति (विव्यस) मार्फत गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा)का इकाई प्रमुख पिताम्बर पन्थीले बताए । आर्थिक वर्ष २०७३/०७४ मा ४ कोठे विद्यालय भवन ३ वटा, ३ कोठे विद्यालय भवन ६ वटा र २ कोठे विद्यालय भवन ६ वटा गरी १५ विद्यालय भवनका ४२ वटा कक्षाकोठाको निर्माण कार्य सकिएको इकाई प्रमुख पन्थीले जानकारी दिए ।

यस्तै आर्थिक वर्ष २०७४/०७५ मा ४ कोठे विद्यालय भवन ३ वटा, ३ कोठे विद्यालय भवन ६ वटा र २ कोठे विद्यालय भवन ६ गरी १५ विद्यालयकामा ४२ कक्षाकोठाको निर्माण कार्य सकिएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ४ कोठे विद्यालय भवनका ३९, ३ कोठे विद्यालयका १० र २ कोठे विद्यालका ३८ गरी ८७ विद्यालय भवनका एक सय ६२ कक्षाकोठाको निर्माण कार्य सकिएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा ४ कोठे विद्यालयका ७ वटा भवनको निर्माण कार्य सकिएको इकाई प्रमुख पन्थीले बताए । उनका अनुसार ८ वटा विद्यालयमा खानेपानी वितरण गरिएको छ । त्यस्तै ४३ वटा विद्यालयमा सुविधा सम्पन्न शौचालयको पनि निर्माण कार्य सकिएको छ । ६२ वटा विद्यालय भवनका २ सय ९ वटा कक्षाकोठा निर्माणाधीन अवस्थामा छन् । ४ कोठे विद्यालयका ४०, ३ कोठे विद्यालयका ५ र २ कोठे विद्यालय भवनका १७ वटा कोठा निर्माणधीन अवस्थामा छन् । यि निर्माणधीन विद्यालयमा खानेपानी र शौचालयको काम भइरहेको छ । यस्तै १ सय २६ वटा विद्यालय भवनका ७ सय ६९ वटा कक्षाकोठाको पुनर्निर्माणको कार्य गर्न बाँकी रहेको इकाई प्रमुख पन्थीले बताए । केन्द्रबाट प्राप्त कार्यक्रम थोरै र जिल्लामा प्रभावित भएका विद्यालयहरु धेरै भएकाले केही विद्यालयको पुनर्निर्माणको कार्य बाँकी रहेको जनाइएको छ ।

क्षतिग्रस्त भएका विद्यालयहरुको पुनर्निर्माणको लागि बजेट सिलिङ पनि प्रति युनिट फरक–फरक हुने इकाई प्रमुख पन्थीले बताए । उनले भने, ‘४ कोठे विद्यालय भवनका लागि ७० लाख ४० हजार, ३ कोठे विद्यालयका लागि ३५ लाख ८० हजार, २ कोठे भवनका लागि २३ लाख ९० हजार, खानेपानी सुविधाको लागि ७ लाख र शौचालय निर्माणका लागि १५ लाख बजेट लाग्ने छ ।’ विद्यालय भवन निर्माणका लागि प्राविधिकले तयार पारेको लगत इस्टिमेट अनुसार बजेट विनियोजन भएको पन्थीले जानकारी दिए । उनले भने ‘टाढाका विद्यालयको ढुवानीले लागत बढ्ने र सुगमका विद्यालयमा ढुवानी कम हुने गरी लागत अनुमान तयार पारिएको छ ।’ सुविधा सम्पन्न भूकम्प प्रतिरोधी क्षमताका भवन निर्माण भएपछि पठन–पाठन सहज भएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update