Shittalpati
निस्दी गाउँपालिकाले नदी दोहनको विवरण अझै बुझाएन

रामचन्द्र रायमाझी
पाल्पा । जिल्लाको निस्दी गाउँपालिकाले अनुगमन समितिलाई नदी दोहनको विवरण अझै बुझाएको छैन । कालीगण्डकीको भोटाहा घाटमा स्थानीय सरकारका केही व्यक्ति र ठेकेदारको मिलेमतोमा ठेक्का सम्झौता भन्दा दश गुणा बढी नदीजन्य पदार्थ निकासी भएको समाचार बाहिर आएपछि २०७७ भदौ ३१ मा जिल्लाबाट गएको सरकारी अनुगमन टोलीले स्थलगत अनुगमन पछि तत्कालै सम्पूर्ण कार्य विवरण बुझाउन गाउँपालिकालाई निर्देशन दिए पनि अझैसम्म नबुझाएको पाइएको हो ।

शित्तलपाटी डटकम, नवजनचेतना दैनिक लगायतका मिडियामा ‘मिलेमतोमा नदी दोहन’ शिर्षकमा समाचार प्रकाशित भएपछि जिल्ला अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख मिरा मरासिनीको नेतृत्वमा गएको अनुगमन टोलीले जनप्रनिधि र प्राविधिक बसेर छिटो भन्दा छिटो नदी दोहनको सम्र्पूण विवरण सहितको मुचुल्का उठाउन निर्देशन दिएको थियो । अनुगमन समितिले दिएको निर्देशनको गाउँपालिकाले वेवास्ता गरेको छ । यस कार्यमा गाउँपालिका मुख्य व्यक्ति नै संलग्न रहेकाले विवरण बुझाउन गाउँपालिकाले ढिलाई गरेको हुन सक्ने स्रोतले जनाएको छ । अनुगमन समितिले दिएको निर्देशनको समयवाधि पाँच दिन पुरा हुँदा समेत गाउँपालिकाले विवरण बुझाएको छैनन् । अनुगमनका क्रममा आवश्यकता भन्दा बढी नै गिट्टी, बालुवा र ढुङ्गा उत्खनन गरी नदी दोहन भएको पाइएपछि तत्कालै मुचुल्का उठाई अनुगमन समितिलाई विवरण बुझाउन भनिएपनि अहिलेसम्म नआएको अनुगमन समितिका संयोजक तथा जिसस कावा प्रमुख मरासिनीले बताइन् । उनले भनिन्, ‘हामी सम्पूर्ण कागजपत्र हेरेर मात्र अनियमिता भएको वा नभएको भन्न सकिने छ ।’

निस्दी गाउँपालिका–१ भोटाहाघाटमा जथाभावी उत्खनन गरी राखिएको नदीजन्य सामग्री ।            

यस विषयमा गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुसँग बुझ्न खोज्दा उनले कुनै पनि प्रक्रिया दिन चाहेनन् । बरु उल्टै हाम्रो समाचार लेखेको मिडिया हो हजुर ? भन्दै सबै कुरा हजुरहरुलाई नै थाहा छ के भन्नुपर्‍यो भन्दै फोन काटे । जनताबाट निर्वाचित जनप्रतिनिधिले नै आफुले गरेका गतिविधिहरु जनतालाई मिडिया मार्फत जानकारी गराउनु पर्नेमा उल्टै कामको ढाकछोप गर्न मिडियामा कुनै प्रतिक्रिया नदिनुले सरासर जनप्रतिनिधिको हैसियत माथि नै प्रश्न चिन्ह खडा गरेको छ । अनुगमन समितिले प्रारिम्भक रुपमा गाउँपालिकाबाट भएको नदी उत्खनन्को कार्यविवरण प्राप्त भएपछि मात्र थप अनुगमनलाई अगाडि बढाउने जनाएको छ । अनुगमन टोलीले छानविन नहुँजेलसम्मका लागि अहिले उत्खननमा रोक लगाएको छ । ईआईए रिपोर्टको आधारमा ३ हजार १ सय ८६ घनमिटर नदिजन्य पदार्थ निकाल्ने गरी गत कार्तिकमा भोटाहा घाट रामपुर नगरपालिका ६ का सीताराम देवकोटालाई ७ लाख ३० हजारमा ठेक्का दिइएको थियो । पछि कालीगण्डकी करिडोरले १० हजार ७ सय घनमिटर नदिजन्य वस्तुको उत्खनन्का लागि ठेक्का लिएको पाइएको छ ।

सम्झैता भन्दा बढी नदीजन्य पदार्थ उत्खनन् भएपछि यो विषय बाहिर आएको हो । नियम विपरीत नदी दोहन हुँदा समेत गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष मुकदर्शन भएर बसेको वडा १ का वडा अध्यक्ष पूर्णबहादुर खाँणले बताए । उनले भने ‘मैले पटक–पटक गुनासो गर्दा समेत अध्यक्षले गिट्टी, बालुवा निकाल्न रोक्नु भएन ।’ उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई पनि पटक–पटक अनुरोध गर्दा रोकिनुको साटो ठेकेदारले झन् कालीगण्डकीमै स्काभेटर चलाएर दोहन गर्न नछोड्नुले उनीहरुको पनि संलग्नता देखिएको वडा अध्यक्ष खाँणको भनाई छ । जथाभावी ठूलो परिणाममा नदिजन्य वस्तुको उत्खनन् गर्दा नदिले बाटो परिवर्तन गरी खेती योग्य जमिनतर्फ कटान गर्न थाले पछि स्थानीयहरु गाँउपालिकासँग आक्रोसित भएका छन् ।

प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update