Shittalpati
नेपालले यूएईलाई हरायो

काठमाडौं, नेपालले यूएईलाई हराएको छ । आसिफ शेख र ज्ञानेन्द्र मल्लको शतकीय साझेदारीमा नेपालले यूएईलाई ६ विकेटले हराएको हो । यूएईविरुद्धको एकदिवसीय शृंखलाको अन्तिम खेलमा ६ विकेटको जितसहित नेपाल च्याम्पियन बनेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर एक सय ७६ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४०.१ ओभरमा चार विकेट गुमाएर एक सय ८० रनसहित लक्ष्य पूरा ग¥यो । नेपालका ओपनर अर्जुन साउद ३३ बलमा ९ रन जोडेर पेभेलियन फर्केका थिए । यद्यपि, ज्ञानेन्द्र मल्ल र आसिफले दोस्रो विकेटका लागि एक सय २२ रनको साझेदारी गर्दै लक्ष्यतर्फ डोर्‍याए । वान् डाउनमा क्रिजमा उत्रिएका ज्ञानेन्द्र ७३ बलमा सात चौका र तीन छक्कासहित ६४ रनको अर्धशतकीय इनिङ खेलेर पेभेलियन फर्के । नेपाललाई जिताउन महत्वपूर्ण इनिङ खेलेका आसिफ एक सय १९ बलमा १२ चौकासहित ८८ रनमा अविजित रहे ।

यस्तै, कप्तान रोहित पौडेल १० रनमा आउट भए । यूएईका लागि हजरत बिलाल र आयान खानले एक–एक विकेट लिए । पहिलो इनिङमा खराब सुरुआत गरेको यूएईले चौथो ओभरको पहिलो बलमा तीन विकेट गुमाएको थियो । त्यसपछि सम्हालिने कोसिस गरेको यूएईका रोहन मुस्ताफा र अलिशान साफरुले ६३ रनको साझेदारी गरेका थिए । तर, त्यसपछि लगातार विकेट गुमाएको यूएईले ३१.१ ओभरमा ९ विकेट गुमाएर ९३ रन बनाएको थियो । अन्तिम विकेटका लागि हजरत बिलाल र आयान खानले इनिङकै ठूलो ८३ रनको साझेदारी गर्दै यूएईलाई अनपेक्षित योगफलतर्फ अगाडि बढाए । यूएईका लागि शानदार ब्याटिङ गरेका आयानले ६० बलमा सात चौका र एक छक्कासहित अर्धशतक पूरा गरेर ५४ रनमा अविजित रहे ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update