Shittalpati
माथागढी महिला, पुरुष भलिवलको उपाधि झडेवालाई

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाले आयोजना गरेको महिला, पुरुष भलिवलको उपाधि झडेवाले हात पारेको छ । पुरुषतर्फ भएको फाइनल खेलमा झडेवाको आनन्दनगर स्पोर्टस क्लबले कसेनीलाई सोझो सेटमा हराउदै उपाधि हात पारेको हो ।

खेलमा आनन्दनगरले २५–२१ र २५–१६ को सेटमा कसेनीलाई पराजित गरेको थियो । आनन्नगरले झडेवालाई र कसेनीले रहवासलाई हराएर फाइनल प्रवेश गरेको हो । तेस्रोका लागि भएको प्रतियोगितामा रहवासलाई २–१ को सेटमा हराएको हो । झडेवाले १८–२५, २५–१३ र १५–८ को सेटमा पछि पारेको थियो ।

महिलातर्फ आनन्दनगर स्पोर्टस क्लबले कसेनीलाई सोझो सेटमा पराजित गर्दै माथागढी कपको उपाधि जितेको छ । आनन्दनगरले २५–२० र २७–२५ को सेटमा पछि पारेको हो । आनन्दनगरले झडेवालाई र कसेनीले रुप्सेलाई पछि पार्दै फाइनल प्रवेश गरेका थिए । महिलातर्फ तेस्रोको लागि भएको खेलमा झडेवाले रुप्सेलाई सोझो सेटमा पराजित गरेको छ । झडेवाले २५–१९ र २५–९ को सेटमा पराजित गरेको हो । पुरुषतर्फ पहिलो हुनेले ७० हजार, दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले ३० हजार नगद, शील्ड, मेडल र प्रमाणपत्र पाएका छन् ।

महिलातर्फ पहिलो हुनेले ४० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार नगद, शील्ड, मेडल र प्रमाणपत्र पाएका छन् । उनीहरुलाई माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापा, उपाध्यक्ष निर्मला भट्टराई, प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, माथागढी गाउँपालिकास्तरीय युवा तथा खेलकुद विकास समितिका अध्यक्ष खोमबहादुर गाहा, गाउँपालिकाका प्रवक्ता मधु पराजुली, आनन्दनगर स्पोर्टस क्लबका अध्यक्ष किसन कामु मगर, माथागढी गाउँ शिक्षा समितिका सम्पर्क व्यक्ति अशेष भट्टराई लगायतले खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।

विद्यागत पुरुषतर्फ उत्कृष्ट सर्भर कसेनीका यमनसिंह आले, उत्कृष्ट डिफेन्सर आनन्दनगरका झपेन्द्र राना, उत्कृष्ट सटर कसेनीका घनश्याम आले, उत्कृष्ट स्पाइकरतर्फ आनन्दनगरका रोशन गाहा, उत्कृष्ट व्लकर झडेवाकै शंकर चौहान, सर्वोत्कृष्ट खेलाडी आनन्दनगरका नेत्र कामु भएका छन् । महिला तर्फ विद्यागत उत्कृष्ट सर्भर झडेवाकी शान्ति सिंजाली, उत्कृष्ट डिफेन्सर कसेनीकी देवी सारु गाहा, उत्कृष्ट सटर आनन्दनगरकी अनिता सिंजाली, उत्कृष्ट स्पाइकरतर्फ कसेनीकी मुना मिधुन, उत्कृष्ट व्लकर कसेनीकै शारदा घर्तिमगर, सर्वोत्कृष्ट खेलाडी आनन्दनगरका नविना चौहान भएका छन् । पुरुषतर्फ नौ र महिला तर्फ पाँच टिमको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update