Shittalpati
प्रेस युनियनद्वारा श्रमजीवी पत्रकारका लागि राहतको प्याकेज लिन माग

रामचन्द्र रायमाझी
पाल्पा, प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियनले श्रमजीवी पत्रकारहरुका लागि राहतको प्याकेज लिन सरकारसँग माग गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउनका कारण समस्यामा परेका सञ्चारमाध्यम र पत्रकारका लागि राहतका प्याकेज ल्याउन युनियनले सरकार समक्ष माग गरेको हो । कोराना भाइरसको सन्त्रासका कारण नेपाली मिडियामा ठूलो असर देखिएको भन्दै युनियनले श्रमजीवी पत्रकारहरुको राहतका लागि आर्थिक सहुलियतको प्याकेज घोषणा गर्न सोमबार युनियनका केन्दीय अध्यक्ष बद्री सिग्देलद्वारा हस्ताक्षरित विज्ञप्तिमा माग गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ कि ‘आफ्नो जीवन जोखिममा राखेर आम जनतालाई सत्य तथ्य र विश्वसनिय सूचना प्रवाह गर्ने सञ्चारकर्मी र सञ्चार क्षेत्र ठूलो मारमा परेका छन् । मोफसल र दुरदराजमा रहेर आम जनतालाई सूचना प्रवाह गरिरहेका पत्रिका, एफएम रेडियो र अनलाईन मात्र होइन राजधानीका सञ्चार माध्यम पनि अत्यावश्क सामग्रीको अभाव र कठिनाई तथा कोरोना भाइरसको संक्रमण प्रति आफै सजग भएर अहिले केही छापामाध्यम बन्द अवस्थामा समेत रहेका छन्, यसले न्यूनतम पारिश्रमीकका भरमा जीवन गुजारा गरिएका श्रमजीवी पत्रकारको चुलो नै बन्द हुने अवस्था एकातिर छ भने, अर्कोतिर सञ्चारमाध्यमहरुलाई आगामी दिनमा कसरी उकासिने भन्ने चिन्ता थपिएको छ । सूचारु रहेका सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी पनि सुरक्षाका आवश्यक उपकरण र सामग्रीको अभावमा जीवन जोखिममा मोलेर सूचना संकलन र संप्रेषणमा तल्लिन छन् । यस्तो अवस्थामा तत्काल सञ्चार माध्यम र पत्रकारका लागि राहत पु¥याउने विशेष प्याकेजको घोषणा गर्न प्रेस युनियन सरकारको ध्यानाकर्षण गराउँदछ ।’ युनियनले सञ्चारकर्मी र सञ्चारमाध्यमलाई आफू सुरक्षित रही महामारीको विषम परिस्थितिमा सत्य,तथ्य र आधिकारिक सूचनामा आधारित समाचार सामग्री मात्र सम्प्रेषण गर्न समेत आग्रह गरेको छ ।

 

प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update