Shittalpati
आज देशभर क्रिसमस डे मनाइदैं

पाल्पा, इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव आज देशभरका चर्चमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । इसाई धर्मावलम्बीहरूको सबैभन्दा ठूलो चाडका रुपमा आज क्रिसमस डे मनाउन लागिएको हो ।

इसाई धर्मका मुख्य प्रवद्र्धक तथा गुरु जिसस क्राइष्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ का दिन क्रिसमस डे मनाइन्छ । क्रिसमस डेका दिनदेखि लगातार १२ दिनसम्म क्रिसमस टाइमका रुपमा विशेष उत्सव गरिन्छ । दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए । आम मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफै क्रसमा चढेको विश्वास गरिन्छ । येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । नेपालमा चार सय वर्षअघिदेखि मनाइए पनि २०६२/६३ को आन्दोलनपछि धर्मनिरपेक्ष राष्ट्र बनेसँगै यसलाई राष्ट्रिय पर्वका रूपमा मनाउन थालिएको इसाई धर्मावलम्बीहरू बताउँछन् । क्रिसमसका उपलक्ष्यमा पाल्पामा पनि विशेष कार्यक्रमको आयोजना गरिदैछ । आज बिहानैदेखि जिल्लाका विभिन्न ठाउँमा रहेका चर्चहरुमा भेला भएर क्रिस्चियन धर्मावलम्बीले क्रिसमस डे मनाउँदै छन् । क्रिसमसका उपलक्ष्यमा जिल्लाका तानसेन, चर्चा, विलिर्भस चर्चा, लगायतका सय भन्दा धेरै चर्चहरुमा विशेष महोत्सव नै हुने गरेको तानसेन चर्चका पास्टर दुर्गा पाहारीले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update