विश्व

मोदी र बाइडेनबीच फोन वार्ता, महामारी नियन्त्रण र सहकार्यका विषयमा छलफल

Shittalpati Reporter

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गरेका छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफु सधैँ खुल्ला र तयार रहेको बताएका छन् । बधाई दिन मंगलबार गरेको फोन कुराकानीका क्रममा उनले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण नियन्त्रणमा सँगसगै मिलेर काम गर्न चाहेको बताएका थिए । भारत र अमेरिकाबीचको सम्वन्धलाई थप प्रभावकारी, प्रगाढ र राम्रो बनाउनका लागि रणनीतिक साझेदारी र छलफललाई निरन्तरता दिनु पर्नेमा समेत उनले जोड दिए ।

‘मैले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई टेलिफोन गरेर बधाई दिएको छु । फोन वार्ताका क्रममा सहकार्य गर्ने र अपसी सम्वन्धलाई अझ बलियो बनाउने बारेमा पनि सकारात्मक छलफल भएको छ,’ मोदीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । विगतका सहमति तथा सम्झौता, कोरोनाभाइरसको महामारी, जलवायु परिवर्तन, हिन्द–प्रशान्त क्षेत्र लगायतका बारेमा संक्षेपमा कुराकानी भएको पनि प्रधानमन्त्री मोदीले जानकारी दिएका छन् ।

उनले उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई पनि न्यानो बधाई दिएका छन् । भारतीय मूलकी अमेरिकी नागरिक ह्यारिस विजयी भएकोमा भारतीयहरु नागरिकस्तरबाट पनि यस अघि नै खुशियाली व्यक्त भइरहेका छन् । विजयी हुनुले अमेरिका र भारतको सम्वन्ध र सहकार्यलाई थप सहज र शसक्त बनाउने विश्वास पनि प्रधानमन्त्री मोदीले व्यक्त गरेका छन् । (रासस/एएनआई)


प्रकाशित मिति: बुधवार, मंसिर ३, २०७७, ०४:०२:००
प्रतिक्रिया दिनुहोस्