Shittalpati
बम विस्फोटमा  दुईको मृत्यु, १२ घाइते

काबुल । अफ्गानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार राजधानी काबुलमा बम विस्फोट गराइएको छ । उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलमै आत्मघाती बम विस्फोटन गराइएको प्रहरीले जनाएको छ । विस्फोटनपछि कम्तीमा दुई जनाको मृत्यु र अरु १२ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । स्रोतलाई उदृत गर्दै पझोक सामाचार संस्थाका अनुसार उपराष्ट्रपति सालेहलाई भने भौतिक रुपमा केही भएको छैन । उपराष्ट्रपति सालेहका छोराले आफ्ना पिता थोरै छलिएकाले केही हुन नपाएको जानकारी दिएको समाचारमा जनाइएको छ । ‘उनीसहित हामी सवार सवारी साधनलाई नै लक्षित गरेर आक्रमण भएको थियो, तर गाडीमा भएका सबै जना सुरक्षित रहन सफल भएका छौँ,’ उपराष्ट्रपतिका छोरा एबाद सालेहले सामाजिक सञ्जालमा लेखेका छन् । स्थानीय समय अनुसार बुधबार बिहान साढे सात बजे विस्फोटन भएको खबर प्रहरीलाई प्राप्त भएको थियो । त्यसपछि प्रहरी तत्कालै घटनास्थलमा गएको थियो । घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिएको र घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको प्रहरीले जनाएको छ । –रासस/एएनआई)

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update