Shittalpati
आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस

पाल्पा, अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस आज विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँदै छ । यस वर्ष सुन्तला रङमा रंगेर महिला हिंसालाई अन्त गर भन्ने प्रतिविम्व सहित कार्यक्रम गरिदै छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, राष्ट्रिय महिला आयोग र विभिन्न गैरसरकारी संघसंस्थाले संयुक्त रूपमा दिवस मनाउने तयारी गरिरहेका छन् । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरे अनुरुप हरेक वर्ष आजकै दिन यो दिवस मनाउने गरिन्छ ।

अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवस मनाइरहँदा अझै पनि महिलाहरु आर्थिक, सामाजिक, साँस्कृतिक तथा राजनीतिक रूपले विभेदीकरणमा परेका छन् भने शारीरिक र यौनिक हिंसाका शिकार भैरहेका छन् । मानव सभ्यातालाई ढुङ्गे युगदेखि आजको २१औँ शताब्दीको आधुनिक युगसम्म आइपुग्दा पनि जसरी समाज विकासक्रम अगाडि बढेको छ त्यही क्रममा आधाभन्दा बढी जनसंख्याको प्रतिनिधित्व गर्ने महिला माथि लैङ्गिक विभेद एवं हिंसाको घटनामा न्यूनीकरण आउन सकेको छैन । पितृसत्तात्मक संरचनामा जकडिएको नेपाली समाजमा महिला र पुरुष एउटै रथमा दुई पाङ्ग्रा एवं समानताको कुरा जतिसुकै गरिए पनि व्यवहारमा हिंसाको दुष्चक्रमा महिलाहरु भासिँदै जाने असहज परिस्थिति बन्दै गएको छ । जुन दुखद पक्ष हो । महिलाहरु शारीरिक, मानसिक तथा मनोवैज्ञानिक रूपमा कमजोर हुन्छन् भन्ने सोचबाट विकसित समाज अझै आफैँमा भेदभावयुक्त छ । महिला हिंसा न्यूनिकरणका लागि सरकार तथा विभिन्न संघ संस्थाहरू लागिरहे पनि यसमा कमी आउन भने सकेको छैन ।

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update