Shittalpati
आत्मनिर्भर बनाउन महिलालाई चुरा बनाउने तालिम

पाल्पा (माथागढी),  जिल्लाको माथागढी गाँउपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन चुरा बनाउने तालिम दिएको छ । गाउँपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाई आयातित बस्तु कम गर्न र रोजगारी सिर्जना गर्ने उद्देश्यले पाँच दिने चुरा बनाउने तालिम दिएको हो । वडा नं. ५ हात्तिलुङमा मागमा आधारित तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । तालिमको गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेकी हुन् । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेकी भट्टराईले महिलाहरुलाई आत्मनिर्भर बनाई आफ्नै गाउँ ठाउँमा उपलब्ध बस्तुहरुबाट सामग्री बनाई आय–आर्जनतर्फ अघि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन् । उनले तालिमबाट सिकेको सिपले महिला दिदी बहिनीहरुलाई आयातित बस्तु कम गरी रोजगारी सिर्जना गर्न समेत सहघाउने धारणा व्यक्त गरिन् । उनले भनिन् ‘गाँउपालिकाले दुरदराजका वडाहरुमा रहेका पिछडिएका वर्ग तथा महिलाहरुलाई बजारको माग र सम्भावनाहरुलाई मध्यनजर गरि स्थानीयस्तरमै रोजगारी सिर्जना होस् भन्ने उद्देश्यले उद्यमशिलता तथा सिपमुलक तालिमहरु दिंदै आएको बताईन् ।

तालिममा ४० जना महिलाहरुको सहभागी रहेको छ । ग्रामिण भेगका महिलाहरुलाई लक्षित गरि आत्मर्निभर बनाउने खालका सिपमूलक तालिम लिन पाउदा आफूहरु खुसी भएको सहभागीहरुले बताएका छन् । कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष बेलबहादुर ढेंगाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रम आफ्नो वडामा ल्याउने बताए । अध्यक्ष ढेंगाले तालिममा सिकेका सिपलाई व्यवहारमा कार्यान्वन गरी मनग्य आम्दानी गर्न सहभागीहरुलाई आग्रह गरे । तालिममा प्रशिक्षक तुल्सा गैरेले सहजीकरण गरेकी थिइन् । उद्घाटन कार्यक्रम वडा सदस्य मतिसरा घर्तीको अध्यक्षता, महिला समुहका सदस्य उमिसरा खाम्चाको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update