Shittalpati
चैतदेखि बन्द बगनासकालीका विद्यालय सोमबारदेखि खुल्ने


पाल्पा, कोभिड १९ का कारण चैतदेखि बन्द रहेका बगनासकाली गाउँपालिकाका विद्यालयहरु सोमबारदेखि खुल्ने भएका छन् । सरकारले कोभिड–१९ संक्रमणको जोखिम नभएका अथवा कम भएका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न पाउने गरी ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरेसँगै बगनासकाली गाउँपालिकाले स्वास्थ्य मापदण्डहरु पूरा गरी विद्यालय खोल्ने भएको हो ।

आइतबार बसेको गाउँपालिकाको शिक्षा समितिको बैठकले सोमबारदेखि नियमितरुपमा विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको छ । बालकक्ष, नर्सरी, युकेजी र एलकेजीका कक्षहहरु बाहेक अन्य कक्षाको पठनपाठन हुने गरी सामुदायिक र संस्थागत विद्यालय सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । उनले भने ‘नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हौं ।’

विद्यालयले पठनपाठन सञ्चालन गर्दा अनिवार्यरुपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने व्यवस्था मिलाउनु पर्ने छ यति त्यस्तो गरे नगरेको समेत अनुगमन गरिने अध्यक्ष बस्यालले बताए । बैंठकले विद्यालयको विद्यार्थी संख्यालाई मध्यनजर गरी विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराई सम्बन्धित वडाबाट विद्यालय सञ्चालनको स्वीकृति लिई सञ्चालन गर्न सकिने व्यवस्था मिलाएको छ । विद्यालय व्यवस्थापन समितिले निर्णय गर्दा अभिभावकहरुको सहमती समेत लिनुपर्ने छ । कक्षाकोठाभित्र विद्यार्थीको भौतिक दुरी कायम गर्न एक बेञ्चमा दुई जना विद्यार्थी मात्र राख्ने व्यवस्था मिलाउनुपर्ने छ ।

सवारी साधन सञ्चालन गर्न चाहने विद्यालयले स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरी विद्यार्थी लाने ल्याउने व्यवस्था गर्न सक्ने छन् । रुघा, खोकी, ज्वरोका लक्षण देखिएमा त्यस्ता विद्यार्थीहरुलाई घरबाट नआउने भन्ने साथै कोरोना पोजेटिभ देखिएका परिवारका विद्यार्थीहरु समेत विद्यालयमा नआउन भन्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष बस्यालले बताए । ज्वरो नाप्ने थर्मोल गन र स्यानीटाइजर एकपटकलाई उपलब्ध गराउन गाउँपालिकालाई अनुरोध गर्न आग्रह गरिएको छ । कोरोना भाइरस संक्रमणको महामारीमा विद्यार्थीको स्वास्थ्य जोखिममा पर्ने भएकोले चैत ५ गतेदेखि नै देशभरका विद्यालय बन्द छन् । नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय खोल्ने र यसको जिम्मेवारी स्थानीय सरकारलाई नै दिएकाले पनि यस्तो निर्णय गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

   शिक्षा समितिको निर्णय

 

 

 

 

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update