Shittalpati
तानसेनको दमकडामा कृषि मेला

कृष्ण पोखरेल
पाल्पा, जिल्लाको तानसेन नगरपालिका –९ मदनपोखरास्थित दमकडाको तिन्टीआँपमा कृषि मेला तथा प्रदर्शनी भएको छ । कृषि उत्पादन बढाउन, कृषकलाई प्रविधिसँग जोडी उद्योगको रुपमा विकास गराउने अभिप्रायले एक दिने कृषि मेलाको आयोजना गरिएको हो ।

तानसेन नगरपालिका –९ वडा कार्यालयको आयोजनामा गरिएको कृषि मेलामा कृषकहरु उत्साहित देखिएका थिए । कृषि मेलामा स्थानीय उत्पादनदेखी विभिन्न किसिमका तरकारी, केरा, तरुल, फर्सी, मकै, धान, पिँडालु, तथा प्रशोधित खाद्यान्नहरु, फलफूल तथा नर्सरी राखिएका थिए । कृषकलाई प्रविधीसँग जोड्नका लागि आवश्यक पर्ने कृषि औजार धान मकै लगाउने मेसिन, खनजोत गर्ने मिनि टिलर, घरेलु कृषि औजारको जानकारी प्रर्दशनी, प्रयोग गर्ने तरीका, औजारहरुको मूूल्यहरुको बारेमा जानकारी गराईएको थियो । कृषकलाई उद्यमी बनाउने आधुनिक प्रविधीसँग जोड्दै उत्पादनमा वृद्धि गर्न, उत्पादित कृषि उपजलाई प्रशोधन गरी बजारीकरण गर्ने उद्देश्य रहेको वडा अध्यक्ष राजेश कुमार अर्यालले बताए । व्यवसायिक कृषि तथा तरकारी उत्पादनमा मदनपोखरा नेपालकै परिचित नाम हो । २०३० सालदेखी पाल्पाको मदनपोखराका कृषकहरुले कृषि क्रान्ति अभियान नै चलाएका हुन् ।

मदनपोखराका कृषकहरु १२ महिना तरकारी खेतीमै रमाउने गरेका छन् । मदनपोखरामा व्यबसायिक कृषि अभियान चलाउने मध्येका नगेन्द्रराज पाण्डे अहिले कृषि उद्यमीको रुपमा पहिचान बनाएका छन् । पाण्डेले पाल्पाबाट प्लाष्टिक टनेल र प्लाष्टिक पोखरीको अभियान शुरु गरी ७७ वटै जिल्लामा पुर्‍याएका छन् । कृषि पेशालाई अगाडि बढाउन, युवापुस्तालाई कृषिमा आर्कषित गराउन, एक कृषकबाट अर्काे कृषकमा कृषि प्रविधी हस्तान्तरण गर्न गराउन महोत्सवले महत्वपूूर्ण भूूमिका खेलेको कृषि उद्यमी नगेन्द्रराज पाण्डेले बताए । कृषि महोत्सवमा रैथाने बाली प्रदर्शनी, प्रतियोगितात्मक बाख्रा, कुखुरा प्रदर्शनी, कृषि यन्त्र उपकरण, बीउविजन राखिएको थियो । कृषि प्रदर्शनी तथा मेलामा खसी बोका बाख्रा राखिएका थिए । आधुनिक जातका बोका तथा बाख्राहरु मेलाको आर्कषण बनेको थियो । कृषि मेलामा पशु रोगको जानकारी तथा गोबर, माटो परीक्षण, जैविक मल उत्पादन प्रदर्शन गरिएको थियो । मेलामा सहभागी कृषकहरुले पाल्पामा ठूूलो क्षमता चिस्यान केन्द्रको सञ्चालन भएमात्र यस क्षेत्रका किसानको उत्पादनले बजार पाउने स्थानीय कृषक जीवनाथ बरालले बताए । कार्यक्रममा विभिन्न कृषकहरुलाई सम्मान गरिएको थियो ।

कृषि मेलामा जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल, उप प्रमुख काशिका गैरे, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, तानसेन नगरपालिकाका कार्यवाहक मेयर यादव सिंह कार्की, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, विभिन्न वडाका अध्यक्ष सहित जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिले स्टलहरुको अवलोकन गरेका थिए । मेलामा कृषि सेवा केन्द्र तथा पशु सेवा केन्द्र दमकडा, मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था कृषि मेला उपभोक्ता समिति, कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले समन्वय गरेका थिए ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update