Shittalpati
मकै र गहुँको सट्टा कफी खेती

अर्घाखाँची, अर्घाखाँचीको शितगंगा नगरपालिका–३ खसर्काका महिला जनजागृती महिला कफी किसान समूह बनाएर व्यावसायिक कफी खेतीमा लागेका छन् । माग बढेपछि उनीहरु २० जनाको समूह बनाएर कफी खेतीमा लागेका हुन् । कफी खेतीबाट पर्याप्त आम्दानी हुने गरेको ‘कफी महिला समूह’की अध्यक्ष मीना भुसालले बताइन् ।

मकैखेती र गँहुखेती गर्ने बारीमा अहिले खसर्काका महिलाले बारीभरी कफी लगाएको स्थानीय दुर्पता न्यौपानेले बताइन् । अरु खेतीमा भन्दा कफीबाट मनग्य आम्दानी लिन सकिने भएपछि कफी खेतीमा लागेको उनको भनाइ छ । शीतगंगा–३ ठाडाका मित्रलाल बेल्वासेले दुई सय रोपनीमा १० हजारभन्दा बढी कफीका बिरुवा लगाएका छन् । भारतमा रोजगारी गर्दै आएका उनी गाउँ फर्किएर ठाडा र जुकेनामा जग्गा किनर कफी खेतीमा लागेका हुन् । अब थप पाँच हजार कफीका बिरुवा लगाउने उनको योजना छ । अर्घाखाँचीमा उत्पादन भएको अर्गानिक र पार्चमेन्ट कफी कोरिया, अमेरिका र जापानमा निर्यात हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख रामनाथ पाण्डेले बताए ।

आठ सय मिटरदेखि एक हजार ६ सय मिटर सम्मको उचाइमा उत्पादन भएको कफी स्वादिलो मानिन्छ । “यहाँको कफीको विदेशमा माग बढेको छ”, पाण्डेले भने । अर्गानिक कफी उत्पादन गर्ने किसानलाई लक्षित गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाले ५० प्रतिशत र ८५ प्रतिशत अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । किसानलाई बिरुवा अनुदान, नर्सरी व्यवस्थापन, सिँचाइ टंकी लगायत कार्य तथा प्राविधिकरुपमा परियोजनाले सहयोग गर्दै आएको छ । –रासस

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update