हरेक वर्ष ११ डिसेम्बरमा अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइन्छ । यस वर्ष पनि आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । जलवायु परिवर्तन र जनसंख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा परेको असर न्यूनीकरणप्रति जनचेतना जगाउने उद्देश्यले दिवस मनाउने गरिन्छ । तर विडम्वना प्राकृतिक सौन्दर्यताको प्रतिक, वातावरणीय विविधताको धौतक, हिमश्रृंखला र पहाड हाम्रा पर्वतहरु हराउँदै जान थालेका छन् ।
नदी नालाको श्रोत, जल, जमीन अनि जंगलको समिश्रण पनि हाम्रा विशाल पर्वत र हिमश्रृंखला नै हुन् । तर सुन्दर पर्वतहरु अहिले कालापहाड जस्ता देखिन थालेका छन् । हिमालमा हिउँ नै पर्न छोडेको छ । हिमरेखा माथि–माथि सर्दै जान थालेका छन् । पानीको सञ्चिती घटेको छ । पहाडमा समेत खानेपानीका मुहान तथा खोला खोल्साहरूमा पानीको मात्रा घट्दै गएको छ । विश्वव्यापी रूपमा बढिरहेको कार्बन उत्सर्जनका कारण मुलुकको तापक्रम बढिरहेको छ । यसको सीधा असर हिमालय क्षेत्रमा पर्दा हिमाल, हिमनदी र हिमतालहरू पग्लिने र फैलने गति तीव्र भइरहेको छ । हिमालमा हिउँ नपर्नु, परेको हिउँ चाँडै बिलाएर जाने र हिमालका फेदमा हिमतालको क्षेत्रफल बढ्दै जाने गरेको तथ्यले जलवायु परिवर्तनको सीधा असर पर्वतहरुमा परेको सहजै अनुमान गर्न सकिन्छ । हरेक वर्ष अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउने गरिए पनि जोखिम अवस्थामा रहेका पर्वतहरु जोगाउने विषयमा कसैको पनि ध्यान जान सकेको छैन । यो अत्यन्त दुखको कुरा हो । हाम्रो साझा भविष्यलाई जगेर्ना गर्ने हो भने जलवायुमा भइरहेको परिवर्तनविरुद्ध लडाइँ लड्न आवश्यक छ । सुन्दर पर्वत जोगाउने अहिलेको चुनौती सरकार एक्लैले मात्र थेग्न सक्दैन । नागरिक समाज, निजी क्षेत्र, सामाजिक संघसंस्था, समाजका प्रतिष्ठित संस्था सबैको सहकार्य हुन जरुरी छ । यसर्थ विश्व पर्वत दिवसलाई केवल दिवसका रुपमा मात्रै भन्दा पनि मानव जीवनलाई वातावरण अनि मानवीय मैत्रीपूर्ण भावनालाई व्यवहारमै लागु गर्न सकियो भने मात्र दिवस मनाउनुको सार्थकता रहन्छ ।

