पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाले महिला शिक्षक, सञ्चारकर्मी, तथा कर्मचारीहरु बिच प्रविधिको सही प्रयोगबाट लैङ्गिक हिंसा न्यूनीकरणका लागि सचेतना सम्बन्धी अन्तक्र्रिया गरेको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत “प्रविधिको सहि प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने अभियानका साथ पालिकाले विद्यालयका महिला शिक्षक मार्फत बालबालिका हुँदै परिवार तथा समुदायमा सचेतना फैलाउन कार्यक्रम गरेको हो ।
समुदायमा बढ्दो लैङ्गिक हिंसा, घरेलु हिंसा, मानसिक पीडा, साइबर हिंसा तथा प्रविधिको दुरुपयोगका घटनाहरूलाई न्यूनीकरण गर्न अन्तक्र्रियामार्फत पालिकाले विद्यालयका महिला शिक्षकहरूलाई परिचालित गरेको छ । महिला शिक्षक मार्फत, परिवार, शिक्षक, विद्यार्थी, अभिभावक तथा समुदायमा प्रभावकारी रूपमा सन्देश प्रवाह गर्न सकिने गाउँपालिकाले विश्वास लिएको छ । महिला शिक्षकहरुसँगको अन्तक्र्रियामा बगनासकाली गाउँपालिकाका अध्यक्षले सरस्वती दर्लामी चिदीले समाजमा अझै पनि महिला र बालिकाहरू विभिन्न स्वरूपको हिंसाको शिकार भइरहेको उल्लेख गर्दै लैङ्गिक समानता कायम गर्न सबैको सक्रिय भूमिका आवश्यक रहेको बताईन् । उनले भनिन् “लैङ्गिक हिंसा अन्त्य गर्न कानुनले मात्र पर्याप्त हुँदैन, सामाजिक सोच परिवर्तन गर्न जरुरी छ, अहिलेको समयमा महिला शिक्षकहरू नै समाज परिवर्तनका वाहक हुन् ।”
अहिले पुराना, परम्परागत शैलीमा हुने लैङ्गिक हिंसा न्युनिकरण भएको छ तर प्रविधिमा आधारित रहेर हिंसाका घटनाहरु बढ्दै गएका छन, जसलाई न्युनिकरणको लागि परिवार र समुदायसँग जोडिएको सबैभन्दा नजिक महिला शिक्षक भएकोले सोही विषयमा केन्द्रित गरेर नै पालिकाले कार्यक्रमको डिजाईन गरेको पालिका उपाध्यक्ष हरि प्रसाद पाठकले बताए । उनले संविधानमै महिलाको अधिकारका विषय सुनिश्चितता भएकाले परम्परागत लैङ्गिक हिंसाका घटना कम भएको उपाध्यक्ष पाठकले बताए । कार्यक्रममा सहभागी महिला शिक्षकहरूले विद्यालय तथा समुदायमा देखिएका विभिन्न हिंसाका घटनाहरूको बारेमा जानकारी गराउदै, परिवारमा अझै पनि पुरुषबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा हिंसाका घटना हुने गरेको बताए । घर परिवारमै जन्मिने वित्तिकै छोरा छोरीबिच हुने विभेद, फरक काम र व्यबहार, छोरीलाई कमजोर, छोरालाई बलवान बनाउने व्यबहारबाट लैङ्गिक हिंसा शुरु हुने शिक्षकहरुले जोड दिए । अझै पनि समाजमा छोरा छोरीमा पढाईमा विभेद, घरायसी कामको भारी, बालविवाह, यौन दुव्र्यवहार, गालीगलौज तथा मानसिक दबाबका घटना विद्यमान रहेको महिला शिक्षकहरुले गुनासो गरे । सहभागी शिक्षकहरूले लैङ्गिक हिंसा न्युनिकरणको लागि आफ्ना–आफ्ना विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीहरूलाई अधिकार र कर्तव्यबारे जानकारी दिने तथा जोखिममा रहेका किशोरीहरूलाई आवश्यक परामर्श र सहयोग उपलब्ध गराउने साथै विद्यालयमा बालमैत्री र लैङ्गिकमैत्री वातावरण निर्माण गर्न आफुहरुको पहल रहने महिला शिक्षकहरुले बताए ।
शिशु कक्षामा काम गर्ने महिला शिक्षकहरुको सेवा सुविधा निकै कम भएको, उनीहरु आर्थिक रुपमा हिंसामा परेकाले पालिकाबाट आवश्यक पहल गर्न महिला शिक्षकहरुले माग समेत गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले लैङ्गिक हिंसाको विद्यमान अवस्था, दण्ड जरिवाना, कानुनी सहयोग, साइबर अपराध, सामाजिक सञ्जालको असावधानी पूर्ण प्रयोग, अनलाइन दुव्र्यवहार र डिजिटल ब्ल्याकमेल जस्ता विषयमा जानकारी गराए । शसस्त्र प्रहरी बल ३५ नं. गुल्म पाल्पाकी प्रमुख प्रहरी नायव उपरीक्षक झुपा कुमारी पन्थीले प्रविधीको दुरुपयोगबाट महिलाहरू विशेष रूपमा प्रभावित हुने गरेको भन्दै मोबाइल , फेसबुक, टिकटक, मेसेन्जर जस्ता माध्यम प्रयोग गर्दा सचेत रहनु पर्नेमा प्रशिक्षण दिएकी थिईन । कार्यक्रममा पालिका प्रशासन प्रमुख सुजन घिमिरेले लैङ्गिक हिंसाका कारण, रोकथाम, संवैधानिक तथा कानुनी अवस्था, व्यवहारिक रुपमा भएका हिंसाका घटनाहरु बारे महिला शिक्षकहरुसँग अन्तरक्रिया गरे । १६ दिने अभियानले सबै पक्षमा जागरण फैलाउने भएकाले ३६५ दिन नै कार्यान्वयन गरेर व्यवहारिक जीवनमा लागू गर्नुपर्ने प्रशासन प्रमुख घिमिरेले बताए । पालिकाले लैङ्गिक हिंसा न्यूनीकरण नीतिगत रुपमै गरेका कामहरु, कार्यक्रम तथा बजेटका बारेमा महिला, बालबालिका शाखा प्रमुख धन कुमारी रानाले जानकारी दिईन । विद्यालय, घर र समाज सबै ठाउँबाट हिंसाविरुद्धको आवाज निरन्त उठाएर मात्र लैगिंक हिंसा न्युनिकरण हुने महिला शाखा प्रमुख रानाको बुझाई छ । गाउँपालिकाले आगामी दिनहरूमा विद्यार्थी, अभिभावक, युवा समूह तथा जनप्रतिनिधिहरूबीच पनि यस्तै किसिमका सचेतनामूलक कार्यक्रम विस्तार गर्दै लैजाने, लैङ्गिक हिंसामुक्त समाज निर्माणको लागि सबै तह र तप्काको सहकार्य आवश्यक रहेको जनाएको छ । अन्तक्रिया कार्यक्रममा महिला शिक्षकहरुलाई पालिकाले सम्मान समेत गरेको छ । गाउँपालिकाले लैङ्गिक हिंसा न्युनिकरणको लागि विगतका बर्षहरुमा समुदायमा सचेतना नाटक, घरदैलो सचेतना, महिला स्वयसेवीमार्फत टोलटोल घर–घरमा सचेतना जस्ता अभियान सञ्चालन गरिसकेको छ भने यस बर्ष विद्यालयका महिला शिक्षकहरुमार्फत लैङ्गिक हिंसाविरुद्धको आवाजलाई विद्यालय हुँदै समाजसम्म फैलाउने महत्वपूर्ण प्रयासको थालनी गरेको छ । पालिकास्तरीय महिला समन्वय समितीकी अध्यक्ष विमला बस्यालको स्वागत कार्यपालिका सदस्य गिता रेग्मीको सञ्चालनमा कार्यक्रम भएको थियो ।


