तानसेन, जिल्लाको तानसेनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । तानसेनस्थित टुँडिखेल मैदानमा आजदेखि सातौं नगरस्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत गरी २६ विद्यालयका ८ सय ५० खेलाडीले सहभागिता जनाएका छन् । एथ्लेटिक्स, भलिबल, कबड्डी र मार्सल आर्ट विधाका ६६ खेलमा छात्रछात्राहरुले प्रतिष्पर्धा गर्ने तानसेन नगरपालिका शिक्षा शाखा प्रमुख कोपिला न्यौपानेले बताईन् ।

प्रतियोगिताको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर (बसन्त) ले उद्घाटन गरेका हुन् । प्रतियोतिाको उद्घाटन गर्दै उनले खेलकुद स्वस्थ जीवनयापनका साथै अनुसाशनमा रहन र आफ्नो प्रतिभा देखाउने माध्यम रहेको बताए । सभामुख घर्तीले विद्यालयस्तरमा नै खेलकुदलाई महत्व दिन विद्यालयका प्रधानाध्यापकलाई आग्रह गर्दै प्रदेश सरकारबाट खेलकुदका लागि आवश्यक बजेट विनियोजन हुँदै आएको उल्लेख गरे । सभामुख घर्तीले राष्ट्रलाई चिनाउने माध्यम खेलकुद भएकाले राजनीतिकर्मी, कर्मचारी, खेलप्रेमी, खेलाडी सबैले आ–आफ्नो क्षेत्रबाट इमान्दार भएर काम गर्नुपर्ने बताए ।

नगर प्रमुख सन्तोषलाल श्रेष्ठले पाल्पा विगतमा खेलकुद क्षेत्रमा ख्याति कमाएको जिल्ला भएकाले यसलाई स्थानीय सरकारले प्राथमिकताका साथ हरेक वर्ष बजेट विनियोजन गर्दै आएको बताए । उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले खेलाडीहरु राष्ट्रका गहना भएकाले उनीहरुको प्रतिभाको मूल्याङ्कन गरि उचित वातावरण र अवसर दिनु पर्ने बताइन् । कार्यक्रममा नेपाल शिक्षक युनियनका अध्यक्ष कृष्ण बहादुर थापाले विद्यालय स्तरबाट खेल क्षेत्रलाई महत्व दिन सकेमा राम्रा खेलाडी उत्पादन हुने बताए । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमल राज तिमिल्सेनाले विगतमा पाल्पाबाट राष्ट्रिय खेलाडी बन्न सफल हुँदै आएकोमा अब पनि राष्ट्रिय खेलाडी उत्पादन गर्न खेलाडीलाई हौसला र प्रेरणा दिनु पर्नेमा जोड दिए ।

प्रतियोगिता अन्तर्गत आज भएको ३००० मिटर दौडमा छात्रतर्फ जनता माविका प्रवेश खड्का प्रथम, महेन्द्र बोधीका सरोज पाण्डे दोस्रा र न्यु होराइजनका लाल पति थापा तृतिय भएका छन् । यस्तै छात्रातर्फ जनता माविकी सुस्मिता जिसि प्रथम, शारदा माविकी रिया विक दोस्रो, सेनमा माविकी सोनिया घर्ती तृतिय भएका छन् । प्रतियोगिता सोमबारसम्म सञ्चालन हुने खेल संयोजक पुर्णराज शाक्यले बताए ।


