Shittalpati
केन्द्रीय सदस्यमा रानाको उम्मेदवारी :  भन्छन् ‘लोकतन्त्रको संस्थागत र समृद्धिका लागि’

रामचन्द्र रायमाझी/कृष्ण पोखरेल
पाल्पा, नेपाली काँग्रेसका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेश सरकारका उर्जा जलश्रोत तथा सिचाई मन्त्री वीरबहादुर रानाले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । नेता रानाले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

आफ्नो उम्मेदवारी जनजाती खुला कोटाबाट केन्द्रीय सदस्यमा रहेको भन्दै उनले जिल्लाबाट उम्मेदवार रहेका सबै उम्मेदवारलाई सहयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरे । ‘लोकतन्त्रलाई संस्थागत गरी मुलुकलाई आर्थिक समृद्धिको रुपमा अगाडि बढाउन नेपाली काँग्रेसको संगठनलाई सुदृढ बनाउन, गुट उपगुटको अन्त्य गर्न मेरो उम्मेदवारी हो’ उनले भने । लामो संघर्षपछि मुलुकमा लोकतान्त्रिक व्यवस्था कायम भएपनि राजनीतिक दलहरुका कारण संस्थागत हुन नसकेकाले पार्टी भित्र लोकतन्त्रलाई संस्थागत गर्न आफुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको नेता रानाको भनाई छ । राजनीतिक दलभित्र विकृति र विसंगती मौलाउदै गएको बताउदै उनले दललाई करेक्सन नगरेसम्म लोकतन्त्र संस्थागत नहुने बताए । नेता रानाले भने ‘जबसम्म राजनीतिक दल विकृत प्रवृत्तिबाट करेक्सन हुन सक्दैनन् तब सम्म लोकतन्त्र संस्थागत र मुलुकमा समृद्धि हुन सक्दैन ।’ कुनै पनि समाज र देशको विकास गर्न कुनै न कुनै तहमा राजनैतिक नेतृत्व आवश्यक रहेको औल्याउँदै नेता रानाले आफु केन्द्रीय नेतृत्वमा पुगेर सिंगो पाल्पाको आर्थिक विकास गर्नको लागि भएपनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताए । उनले ‘मैले पाल्पाको सभापति भएर काँग्रेसको संगठन सुदृढिकरण र जिल्लाको विकासमा धेरै काम गरेको छु भन्ने लाग्छ, अब जिल्लामा जस्तै देशभर काँग्रेस र देशको विकासका लागि काम गर्ने योजनामा छु ।’ जिल्लामा अन्य राजनीतिक दलका नेताहरुसँगको सुमधुर सम्बन्धका कारण उनी सबैले रुचाईएका नेताका रुपमा चिनिन्छन् । नेपाल विद्यार्थी संघ, तरुणदल, पार्टीको जिल्ला सभापति समेत भइसकेका राना काँग्रेस कोटाबाटै लुम्बिनी प्रदेशको उर्जा जलस्रोत मन्त्री समेत बनेका छन् ।

पाल्पा नेपाली काँग्रेसको पार्टीलाई शसक्त जुझारु बनाउन, युवा पुस्तालाई राजनीतिमा क्रियाशील बनाउन रानाको सक्रिय भूमिका रहेको छ । समग्र लुम्बिनी प्रदेशको विकास पद्दतिलाई लयगत रुपमा लैजान, जिल्लाको विकासलाई प्रभावकारी बनाउन, पार्टी पद्दती संस्कारयुक्त बनाउन, राजनीतिक दलमा देखिएको वितिष्णा हटाउन, जनताप्रति राजनीतिक दल उत्तरदायी बनाउन जनजाती खुलातर्फ केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको रानाले बताए । केही वर्ष अझै सक्रिय राजनीति मार्फत देश र जनताको सेवा गर्ने भावना रहेकाले, जिल्ला र केन्द्रको नेतृत्व वर्गको छलफल र सल्लाहमा पाल्पा जिल्लाबाटै केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिएको उम्मेदवार रानाले बताए । पत्रकार महासंघका सचिव यज्ञमुर्ति तिमिल्सीनाले
उम्मेदवार रानाको विजयको लागि पाल्पाली पत्रकारहरु सक्रिय भएर लाग्ने बताए ।

नवनिर्वाचित नेपाली काँग्रेस पाल्पाका जिल्ला सभापती हिमालदत्त श्रेष्ठले निवर्तमान पार्टी सभापति एवं प्रदेश मन्त्री रानालाई अत्याधिक मतबाट जिताउने गरी जिल्लाको सम्पूर्ण टिम खटिएको बताए । पार्टी उपाध्यक्ष झपेन्द्र गैहिरेले उम्मेदवार रानालाई जिताउन, आवश्यकता अनुसार देशभरीका साथीहरुलाई परिचालन गरिएकाले जित सुनिश्चित रहेको बताए । उम्मेदवार घोषणा कार्यक्रम पार्टी सचिव सुनिता अधिकारीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update