Shittalpati
पत्रकार महासंघ चुनाव : पाल्पामा २९ जनाको उम्मेदवारी,  अध्यक्ष, सचिव, सहसचिव र सदस्यमा प्रतिस्पर्धा हुँदै

रामचन्द्र रायमाझी

पाल्पा, आगामी चैत २५ गते हुन लागेको नेपाल पत्रकार महासंघको निर्वाचनमा पाल्पामा विभिन्न पदमा २९ जनाले उम्मेदवारी दिएका छन् । २५ वटा पदका लागि हुने निर्वाचनमा २९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको जनाएको छ । नेपाल पत्रकार महासंघको इतिहासमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीअनुसार हुन लागेको छ । उम्मेदवारी दर्ता फरक–फरक दिन भए पनि निर्वाचन भने संघीय, प्रदेश र जिल्लाको एकै दिन हुनेछ ।

नेपाल पत्रकार महासंघका पाल्पाको अध्यक्षमा तीनजनाको उम्मेदवारी परेको छ । प्रेस चौतारी नेपालबाट कमलराज तिमिल्सीना, प्रेस सेन्टरबाट रेखीराम राना र स्वतन्त्रबाट जीवलाल सुवेदीले उम्मेदवारी दिएका छन् । त्यसैगरी, उपाध्यक्षमा नेपाल प्रेस युनियनका सभापति भरत शर्मा, महिला उपाध्यक्षमा प्रेस चौतारीको सिर्जना घिमिरेको उम्मेदवारी परेको छ । उपाध्यक्षमा खुला एक र महिलामा एक जनाको मात्र उम्मेदवारी परेकाले उनीहरु दुवै जना निर्विरोध निर्वाचित भएका छन् । यस्तै सचिवमा कृष्ण कार्की, यज्ञमुर्ति तिमिल्सीना र भोजराज भट्टराईको उम्मेदवारी परेको छ । सचिव पदका लागि तीनै जनाको प्रतिष्पर्धा हुने देखिएको छ । कोषाध्यक्षमा नेपाल प्रेस युनियनका मुक्तिप्रसाद न्यौपानेको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै खुला सह–सचिवमा नारायण न्यौपाने, रिमा सोमै र समावेशी सह–सचिवमा कृष्ण दर्नालले उम्मेदवारी दिएका छन् ।

दलित सदस्यमा विजय बौडेल, अल्प संख्याकमा रन बहादुर कुमाल, समावेशीमा अनिल लिगलले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै खुला सदस्यमा ४ पदको लागि कृष्ण प्रसाद पोखरेल, भुवन रायमाझी, दुर्गेश मल्ल, सितादेवी डोटेल, सुनिल कार्की, दयाराज न्यौपाने, अमृत अधिकारी, विष्णु प्रसाद घिमिरेले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका सदस्य भरत प्रसाद आचार्यले जानकारी दिए ।

महिला सदस्यमा भने कसैको उम्मेदवारी परेको छैन । यसैगरी २ वटा राष्ट्रिय परिषद सदस्यमा भगवान भण्डारी, देव पचभैया, गिता ज्ञवाली र केशव नेपालको उम्मेदवारी परेको छ, भने प्रदेश परिषद सदस्यमा नरभुपाल(मिलन) वि.क. र सुकुम नेपालीको उम्मेदवारी परेको छ । राष्ट्रिय परिषद सदस्यमा उम्मेदवारी दिएकी ज्ञवाली भने र्निविरोध निर्वाचित भएकी छन् । उम्मेदवार उपरको दाबी–विरोधका लागि आइतबार साँझ ६ बजेदेखि सोमबार अपराह्न साढे १२ बजेसम्मका लागि समय निर्धारण गरेको छ भने उम्मेदवारले सो दिउँसो २ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन समितिले जनाएको छ । त्यसैगरी, उम्मेदवारको अन्तिम नामावली प्रकाशन सोमबार साँझ ४ बजे गरिने निर्वाचन अधिकृत जोगबहादुर विश्वकर्माले बताए ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update