पाल्पा, नेपाल प्रेस युनियन पाल्पा शाखाले आफ्नो १०औँ जिल्ला अधिवेशनका अवसरमा विभिन्न विधाका १२ जना पत्रकारलाई पुरस्कार प्रदान गरेको छ । पत्रकारिताको क्षेत्रमा योगदान पुर्याएका तथा सक्रिय रूपमा पत्रकारिता गर्दै आएका पत्रकारलाई संस्थाले नगद, प्रमाणपत्रसहित सम्मान गरेको हो ।
युनियनले पूर्णमान स्मृति पत्रकारिता पुरस्कारबाट माधव अर्याल, तिलकराम स्मृति पत्रकारिता पुरस्कारबाट सुनिल कार्की र दानबहादुर हिस्की, विकास पत्रकारिता पुरस्कारबाट सुमन कार्की, बालकुमारी स्मृति पत्रकारिता पुरस्कारबाट भोजराज तिमिल्सेना तथा सिर्जनशील पत्रकारिता पुरस्कारबाट मिना कुमाल, प्रेरणा नेपाल, शोभा थापा पुरस्कृत भएका छन् । त्यसैगरी क्रियाशिल पत्रकारिता पुरस्कारबाट सन्तोष गहतराज, पाल्पाली ढाका पत्रकारिता पुरस्कारबाट लेखक दुर्गा अर्याल, लक्ष्मण घिमिरे स्मृति पत्रकारिता पुरस्कारबाट अनु खनाल तथा राजेन्द्र पन्थी स्मृति पत्रकारिता पुरस्कारबाट सीता पाण्डे पुरस्कृत भएका छन् । युनियनले संस्थालाई विभिन्न समयमा महत्वपूर्ण सहयोग पुर्याउने व्यक्तिहरूलाई पनि सम्मान गरेको छ ।
संस्थाका सल्लाहकारहरू झपेन्द्र गहिरे, जगदीश भट्टराई, माधव अर्याल, प्रकाश नेपाल, कविराज नेपाल, भरत शर्मा र मुक्ति न्यौपाने लगायतलाई सम्मान गरिएको हो । त्यसैगरी नेपाल प्रेस युनियन पाल्पालाई विभिन्न समयमा सहयोग गर्दै आएका नेपाली कांग्रेस तानसेन–१३ का वडा सभापति किशोर भट्टराई, लुम्बिनी मेडिकल कलेजका कम्पनी सचिव कृष्णप्रसाद पराजुली तथा नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष एवं होटल व्यवसायी मोहनप्रसाद श्रेष्ठलाई पनि सम्मान गरिएको छ । यसैबीच, युनियनका सल्लाहकार जगदीश भट्टराईले पत्रकारिता कल्याणकारी राहत कोषका लागि २१ हजार रुपैयाँ सहयोग गरेका छन् । पत्रकार तथा सञ्चारकर्मीलाई आपत्कालीन अवस्थामा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको राहत कोषमा उनले उक्त रकम प्रदान गरेका हुन् ।पुरस्कार तथा सम्मानले पत्रकारलाई थप उत्साहित बनाउँदै पत्रकारिताको क्षेत्रमा सक्रिय र जिम्मेवार भएर काम गर्न प्रेरणा मिल्ने युनियनले जनाएको छ ।


