Shittalpati
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार कहिले ?

रामचन्द्र रायमाझी
पाल्पा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका सत्ता साझेदार दलहरूले मन्त्रालयको बाँडफाँट नै टुंगो लगाउन सकेका छैनन् । मुख्यमन्त्री गिरीले सत्ता गठबन्धनका दलहरुसँग लगातार छलफल गरे पनि मन्त्रालय भागबण्डा हुन सकेको छैन ।

पुस २७ गते शपथ लिएका गिरीले दुई जनालाई विना विभागीय मन्त्री बनाए पनि भागबण्डा नमिल्दा मन्त्रीपरिषद् विस्तार सकस भएको हो । प्रदेश सभाबाट माघ ५ गते विश्वासको मत लिएका छन् । मन्त्रालय संख्याभन्दा धेरै र महत्वपूर्ण मानिएकामा बढी दाबी हुनाले पनि बाँडफाँट टुंग्याउन मुख्य मन्त्री गिरीलाई सकस परेको देखिन्छ ।

सबै दलबाट मन्त्रीका आकांक्षी धेरै छन् । मुख्यमन्त्री गिरी भने मन्त्रालयको संख्या धेरै भएको भन्दै अझै घटाउने प्रयासमा छन् । गिरीले पद बहाली गरेकै दिन १३ मन्त्रालयबाट एउटा घटाएर मुख्यमन्त्रीसहित १२ मन्त्रालय कायम गरेका थिए । अहिले अझै दुई मन्त्रालय घटाएर बढीमा १० मन्त्रालय बनाउने तयारी गरिरहेका छन् । मन्त्रीका आकांक्षी बढ्दै गएका बेला मुख्यमन्त्री आफैं मन्त्रालय घटाउने तयारीमा लागेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुन गएको छ । धेरै दल मिलेर बनेको सरकारमा मन्त्रालय भागबण्डामा सबैको चित्त बुझाउन मुख्यमन्त्री गिरीलाई चुनौति छ । यद्यपी अनौपचारिक छलफलमा मुख्यमन्त्री सहित एमालेले ४, माओवादीले ३, जनमत पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टीले एक/एक मन्त्रालय दिने तय भएको स्रोतले जनाएको छ । तर कुन मन्त्रालय कसलाई दिने भन्ने अझै स्पष्ट छलफल भएको छैन । प्रदेशस्तरमै भागबण्डा मिलाउन नसकेपछि मुख्य मन्त्री गिरी केन्द्रका शीर्ष नेताहरुलाई भेट्न काठमाडौं जान लागेका छन् । मुख्यमन्त्रीसँग एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा के शीले मन्त्रीको शपथ लिएका थिए । बिना विभागीय मन्त्रीहरू अहिले प्रदेश राजधानी दाङमा व्यवस्थापकीय काममा सीमित भएका छन् ।

मुख्यमन्त्री गिरी पुस २८ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनलाई प्रदेशसभाका १० दलमध्ये ८ दल र दुई स्वतन्त्र प्रदेशसभा सदस्यसहित ५७ मत प्राप्त भएको थियो । यसअघि उनी ७ दलका ५८ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । विश्वासको मत दिनेमा आठौं दलका रूपमा नेकपा एकीकृत समाजवादी थपिएको छ । मुख्यमन्त्री गिरीको विपक्षमा काँग्रेसका २७ र राष्ट्रिय जनमोर्चाको १ मत परेको थियो ।

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update